सर्लाहीको सदरमुकाम मलङ्गवामा बिहीवार पेस्तोल खेल्ने क्रममा १५ वर्षीय बालक घाइते भएका छन् । मलङ्गवा नगरपालिका–४ निवासी रामविश्वास रामका छोरा आकाश राम गोली लागेर घाइते भएका हुन् ।
मलङ्गवा–४ स्थित ढाकाबोर्डर भन्ने स्थानमा बेवारिसे पेस्तोल खेलाइरहेका बेला बालकको दाहिने हातको पञ्जामा गोली लागेको जिल्ला प्रहरी कार्यालय, सर्लाहीका प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिएका छन् ।
प्रहरीका अनुसार, ढाकाबोर्डरस्थित निर्माणाधीन हनुमान मन्दिरभित्र कुनामा रातो कपडाले बेरिएको वस्तु खोली हेर्दा पेस्तोल फेला परेको थियो । सो पेस्तोल नक्कली होला भनी चलाउँदा अचानक पड्किँदा बालक घाइते भएको हो ।
घाइते बालकलाई हाल प्रादेशिक अस्पताल, मलङ्गवामा उपचार भइरहेको छ र उनको अवस्था अहिले खतरा मुक्त रहेको प्रहरीले जनाएको छ ।
यो घटनाले गत आइतबार (फागुन ३) मलङ्गवामा अज्ञात व्यक्तिको गोली प्रहारबाट भौतिक पूर्वाधार विकास कार्यालय, सर्लाहीका सब–इञ्जिनियर प्रमोदकुमार यादवको हत्या भएको घटनासँग सम्बन्धित हुन सक्ने आशंका पनि प्रहरीले गरेको छ । प्रहरीले घटनामा प्रयोग भएको हतियारको अनुसन्धान गरिरहेको छ ।