अर्थमन्त्री रामेश्वर खनालले आगामी निर्वाचन सम्पन्न गर्न आवश्यक पर्ने कुनै पनि स्रोतसाधनको कमी हुन नदिने दृढता व्यक्त गरेका छन् । ललितपुरमा आयोजित ‘नेपाल पर्यटन गोष्ठी’लाई सम्बोधन गर्दै मन्त्री खनालले निर्वाचनलाई निष्पक्ष र सफल बनाउन सरकारको सम्पूर्ण ध्यान केन्द्रित रहेको बताए ।
पर्यटन बोर्ड र परिसूचक मिडियाको संयुक्त आयोजनामा भएको कार्यक्रममा उनले राज्यका स्रोतहरू सही ढंगले परिचालन गरी निर्वाचनको वातावरण सुनिश्चित गर्ने आश्वासन दिएका छन् । अर्थमन्त्री खनालले मुलुकले अब राजनीतिक अस्थिरताको बहसबाट बाहिर निस्केर आर्थिक समृद्धिको दिशामा लाग्नुपर्नेमा जोड दिए ।
उनको भनाइ अनुसार सरकारका सामु राजनीतिक अन्योल चिरेर देशलाई आर्थिक एजेन्डामा लैजानु नै सबैभन्दा ठूलो चुनौती हो । खनालले अघिल्लो सरकारले पर्यटन क्षेत्रलाई उद्योगसरह सुविधा दिने घोषणा गरे पनि त्यसको पूर्ण कार्यान्वयन हुन नसकेको स्वीकार गरे । उनले पर्यटन क्षेत्रका समस्या समाधानका लागि सरकारले नीतिगत सुधार गरिरहेको र यसलाई प्रभावकारी बनाउने प्रतिबद्धता जनाए ।
अर्थमन्त्रीले देशको अर्थतन्त्रलाई बलियो बनाउन सरकारले हरसम्भव प्रयास गरिरहेको दाबी गर्दै विभिन्न नीतिगत कामहरू अघि बढाइएको जानकारी दिए । पर्यटन र अन्य आर्थिक क्षेत्रको उन्नयनका लागि निजी क्षेत्रसँगको सहकार्य आवश्यक रहेको उनको तर्क थियो । उनले निर्वाचनपछिको स्थिर सरकारले आर्थिक विकासका योजनाहरूलाई थप गति दिने विश्वाससमेत व्यक्त गरे ।