राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सभापति रवि लामिछाने सम्बन्धी विषयमा नेपाली कांग्रेस सभापति गगन थापा ले अदालतका आदेशको अपव्याख्या गरेको आरोप लगाएको छ ।
रास्वपाकी सह–प्रवक्ता प्रतिभा रावलले अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्ने गरी अभिव्यक्ति दिने छुट कसैलाई नभएको बताउँदै कांग्रेस सभापति थापाले विभिन्न अदालतमा दर्ता भएका अभियोगपत्रहरूको अपव्याख्या गरेको भन्दै ध्यानाकर्षण गराएकी हुन् ।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै रावलले विचाराधीन मुद्दा प्रभावित पार्ने अभिव्यक्ति दिन गगन थापाले कसरी छुट पाएको भन्दै प्रश्न उठाएकी छन् ।
उनले लेखेकी छन्, “गगन थापाले जे बोल्दा पनि हुने हो? अदालतमा विचाराधीन रहेको विषयमा मुद्दा प्रभावित हुने गरी अभिव्यक्ति दिने छुट उहाँले कसरी पाउनु भयो? आज उहाँले सार्वजनिक कार्यक्रममा सम्मानित अदालतहरूबाट भएका आदेशलाई मनपरी व्याख्या गर्नुभएको छ । सबै अदालतमा दर्ता भएका अभियोगपत्रहरूको अपव्याख्या गर्नुभएको छ ।”
उनले थप उल्लेख गरेकी छन्, “कानुनी राज्यमा खुला मञ्चबाट सम्माननीय प्रधानन्यायाधीशलाई ‘हाम्रो दाइ हो, जय नेपाल भन्थ्यौं हामी’ भन्न सक्ने एकमात्र भाग्यमानी गगन थापा नै हुनुहुन्छ होला। अदालतलाई प्रभावित गर्ने जो कोही भए पनि कारबाहीको दायरामा ल्याउनुपर्छ भन्दै सम्बन्धित सबै सरोकारवाला निकायको ध्यानाकर्षण गर्दछु । कि कानुन रवि लामिछानेको हकमा मात्रै लागू हुने हो त्यो भनिदिन पर्यो ।”
रास्वपाले अदालत र न्यायिक प्रक्रियाको सम्मान हुनुपर्ने बताउँदै विचाराधीन मुद्दामा सार्वजनिक अभिव्यक्ति दिँदा जिम्मेवारी वहन गर्नुपर्ने धारणा व्यक्त गरेको छ ।