वीरगञ्ज महानगरपालिकाले विपि उद्यान लाई व्यवस्थित हरियाली पार्कका रूपमा विकास गर्ने कार्य तीव्र बनाएको छ ।
हाल उद्यान क्षेत्रमा माटो पुर्ने, जमिन सम्याउने तथा नियमित पानी हाल्ने काम तीव्र गतिमा भइरहेको महानगरपालिकाले जनाएको छ । महानगरका अनुसार अब छिट्टै दुवो रोप्ने तथा विभिन्न प्रजातिका विरुवा रोपण गर्ने तयारी पनि गरिएको छ । लामो समयदेखि अव्यवस्थित र अतिक्रमणको चपेटामा परेको उक्त क्षेत्रलाई खुला तथा हरियाली सार्वजनिक स्थलका रूपमा विकास गर्ने उद्देश्यले काम अघि बढाइएको हो ।
वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले उद्यानलाई आधुनिक, व्यवस्थित र आकर्षक पार्कका रूपमा विकास गर्ने लक्ष्यसहित काम भइरहेको जानकारी दिनुभएको छ । निर्माणाधीन पार्कको उत्तरतर्फ रहेको पुरानो रेल्वे लिक क्षेत्रमा रेल्वे संग्रहालय निर्माण गर्ने योजना पनि महानगरपालिकाले अघि बढाएको छ । ऐतिहासिक महत्व झल्काउन पहिला नेपालमा सञ्चालनमा रहेको रेल इन्जिन जनकपुरबाट ल्याएर संग्रहालयमा राख्ने तयारी रहेको महानगरको योजना छ ।
महानगरपालिकाले पार्क क्षेत्रमा पैदल मार्ग, विश्रामस्थल, फूलबारी तथा व्यवस्थित हरियाली व्यवस्थापन गर्ने योजना बनाएको छ । यसले शहरी वातावरण सुधार, तापक्रम नियन्त्रण तथा सर्वसाधारणलाई स्वच्छ खुला स्थान उपलब्ध गराउन मद्दत पुग्ने विश्वास गरिएको छ ।
यसअघि उद्यान क्षेत्र अतिक्रमण गरी फलफूल, तरकारी तथा कपडा बिक्री गर्दै आएका व्यापारीलाई वैकल्पिक व्यवस्थाका रूपमा छपकैयाँस्थित रेल्वे सडक क्षेत्रमा कृषि बजार स्थापना गरी उद्यानभित्रका अस्थायी संरचना हटाइएको थियो ।
हरियाली पार्क निर्माण सम्पन्न भएपछि वीरगञ्जमा शहरी सौन्दर्य वृद्धि, पर्यावरण संरक्षण तथा आन्तरिक पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको महानगरपालिकाले जनाएको छ ।