पर्साको वीरगंज महानगर क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको छ।
प्रमुख जिल्ला अधिकारी भोला दाहालले सोमबार बिहान ९:४५ बजेदेखि अर्को आदेश जारी नहुँदासम्मका लागि कर्फ्यू आदेश लागू गरिएको जानकारी दिएका छन् ।
आइतबार वीरगंज क्षेत्रमा दुई समुदायबीच झडप भएको थियो । उक्त झडपले उग्र रूप लिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले कर्फ्यू आदेश जारी गरेको हो ।
प्रशासनले कर्फ्यूको सीमा पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सिया नदी, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेटसम्म तोकेको छ ।
कर्फ्यू अवधिभर कसैलाई पनि आवतजावत गर्न, भेला हुन, जुलुस निकाल्न, प्रदर्शन, सभा तथा बैठक गर्न निषेध गरिएको छ ।
यद्यपि, एम्बुलेन्स, दमकल, शववाहन, स्वास्थ्यकर्मीका सवारीसाधन, सञ्चारकर्मी, विश्वविद्यालयका पूर्वनिर्धारित परीक्षाका परीक्षार्थी तथा कर्मचारी, पर्यटक सवारीसाधन, मानवअधिकारकर्मी तथा कूटनीतिक नियोगका सवारीसाधन र हवाइ टिकट भएका यात्रुको आवागमनमा सुरक्षाकर्मीले आवश्यक सहजीकरण गर्ने प्रशासनले जनाएको छ ।