राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा) ले घुँडाको गम्भीर चोटका कारण पुनः जटिल शल्यक्रिया गर्नुपर्ने अवस्था आएको बताउँदै उपचारका लागि आर्थिक सहयोगको अपिल गरेकी छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत उनले उपचार खर्च जुटाउन सहयोग गर्न आग्रह गरेपछि समर्थक तथा खेलप्रेमीहरूमा चासो बढेको छ । करिब दुई महिनादेखि मैदानबाहिर रहेकी भण्डारीले यसअघि गरिएको शल्यक्रियामा हालिएको ग्राफ्ट र एमसिएल (मिडियल कोलेटरल लिगामेन्ट) दुवैमा गम्भीर क्षति पुगेको उल्लेख गरेकी छन् । चिकित्सकको सल्लाहअनुसार पुनः जटिल शल्यक्रिया अपरिहार्य भएको उनले बताएकी छन् ।
एन्फासँग असन्तुष्टि
भण्डारीले यसअघि उपचार व्यवस्थापनमा सहयोग गरेको भन्दै अखिल नेपाल फुटबल संघ (एन्फा) नेतृत्वप्रति आभार व्यक्त गरेकी छन् । सो सहयोग कै कारण आफू समयमै पुनरागमन गर्न सफल भएको उनले स्मरण गरेकी छन् । तर यसपटक भने एन्फाबाट वाचा गरिएअनुसार सहयोग नपाएको उनको गुनासो छ । चोट लागेको तीन सातापछि आफू आबद्ध क्लबको पहलमा शल्यक्रियाको मिति तय गरिए पनि एन्फाले आफ्नै तर्फबाट प्रक्रिया अघि बढाउने बताउँदै ढिलाइ गरेको उनले उल्लेख गरेकी छन् ।
विदेश मै उपचारको तयारी
हाल न्युजिल्यान्डको एक क्लबमा आबद्ध भण्डारीको उपचारका लागि क्लबले स्थानीय अस्पतालमै व्यवस्थापन गर्न तत्परता देखाएको छ । तर चोटको जटिलतालाई ध्यानमा राख्दै उनले कतारस्थित Aspetar Hospital मा उपचार गराउने इच्छा व्यक्त गरेकी छन् ।
प्रारम्भिक अनुमानअनुसार उपचारका लागि करिब ८० हजार अमेरिकी डलर खर्च लाग्ने देखिएको छ । आवश्यक रकम जुटाउन कठिनाइ भएको भन्दै उनले शुभेच्छुक, खेलप्रेमी तथा सम्बन्धित निकायसँग सहयोगको अपिल गरेकी हुन् ।
समर्थकको साथको अपेक्षा
नेपाली महिला फुटबलको प्रमुख स्ट्राइकरका रूपमा परिचित भण्डारीले राष्ट्रिय टोलीका लागि महत्वपूर्ण उपलब्धि दिलाउँदै आएकी छन् । उनको चोट र उपचार प्रक्रियाले आगामी अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको तयारीमा समेत प्रभाव पार्ने देखिएको छ ।
खेलप्रेमीहरूले सामाजिक सञ्जालमार्फत उनलाई शीघ्र स्वास्थ्य लाभको कामना गर्दै सहयोग जुटाउने पहल सुरु गरेका छन् । अब एन्फा तथा सम्बन्धित निकायले कस्तो भूमिका खेल्ने भन्ने विषय चासोको केन्द्र बनेको छ ।