पर्सा निर्वाचन क्षेत्र नम्बर २ मा चुनावी सरगर्मी बढिरहेका बेला हामीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार सुशील कुमार कानुसँग समसामयिक राजनीतिक विषय, उनको उम्मेदवारी, संगठन, भिजन र जनतासँगका प्रतिबद्धताबारे विस्तृत कुराकानी गरेका छौं । रास्वापा उम्मेदवार कानु २०७४ सालकाे स्थानीय तह निर्वाचनमा वडा अध्यक्ष पदमा पराजित भए पनि कार्यपालिका सदस्यमा निर्वाचित भई पाँच वर्ष कार्यकाल पूरा गरेका थिए । २०७९ सालमा वडा अध्यक्षमा निर्वाचित भएका उनी कार्यकाल बाँकी रहँदै राजीनामा दिई अहिले प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका छन् ।
वहाँसँग गरिएकाे विस्तृत कुराकानी :
१) तपाईं यसअघि जनता समाजवादी पार्टी, नेपाल (जसपा) मा हुनुहुन्थ्यो । राजीनामा दिएर रास्वपामा किन प्रवेश गर्नुभयो ?
मेरो राजिनामा दिने कुनै पूर्व–योजना थिएन । स्थानीय तहमा काम गर्दा धेरै कुरा सिकेँ । तर पछिल्लो समय देशमा परिवर्तनको लहर आयो । जनताले पुराना दलबाट अपेक्षा गरेअनुसार परिवर्तन नआएको अनुभूति गरिरहेका छन् । त्यो परिस्थितिमा रास्वपा आशाको किरणका रूपमा देखियो । रास्वापाले पनि मेरो कामको मूल्यांकन गरेर टिकट दिएको छ । त्यसैले परिवर्तनको अभियानमा सहभागी हुन मैले जसपा छोडेँ । त्याे पार्टीमा रहदाँ देश र जनताले चाहेकाे परिवर्तन सम्भव थिएन् जस्ताे लागेर मैले अबकाे अाशा भराेसा रास्वापामा लागेकाे हुँ । हाम्राे क्षेत्रमा पनी हेर्नुहुन्छ भने पुरानाे दलहरूकाे दबदबा छ तर यस क्षेत्रकाे अवस्था सुध्रेकाे छैन् ।
२) वडा अध्यक्षको कार्यकाल बाँकी छँदै प्रतिनिधिसभामा जान खोज्नु जनताप्रति अन्याय होइन ?
म एउटा वडामा मात्र सीमित थिएँ । देशले ठूलो परिवर्तन खोजिरहेको बेला त्यस लडाइँमा सहभागी हुनुपर्छ भन्ने लाग्यो । जनप्रतिनिधिका रूपमा मैले सिकेको अनुभव अब राष्ट्रिय स्तरमा प्रयोग गर्न चाहन्छु । त्यसैले याे अभियानमा म हाेमिएकाे हुँ । मतदाताले यतिकाे हिम्मत र पुराना दलहरूका लागि दिइरहेकाे टक्करले हामीलाइ विश्वास गर्नुभएकाे छ ।
३) संसद भनेको नीति निर्माण गर्ने थलो हो। संविधान, शिक्षा, स्वास्थ्य जस्ता विषयमा तपाईं कत्तिको तयारी हुनुहुन्छ ?
पाँच वर्ष कार्यपालिका सदस्य र त्यसपछि वडा अध्यक्ष हुँदा नीति निर्माण प्रक्रिया नजिकबाट बुझ्ने अवसर पाएँकाे छु । संसदमा पुगेपछि शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार लगायतका विषयमा कसरी प्रभावकारी नीति बनाउन सकिन्छ भन्नेमा स्पष्ट दृष्टिकोण मसँग छ । म अध्ययनशील व्यक्ति हुँ र जिम्मेवारी सम्हाल्न सक्षम छु । कतिकाे तयारीकाे कुरा अाउँदैन् सांसदकाे जिम्मेवारीबारे म जानकार छु ।
४) तपाईंले वडा अध्यक्षका रूपमा गरेका ठोस काम के–के हुन् ?
मैले गरेकाे थुप्रै कामहरू छन् । २ वर्ष मात्रै कार्यकाल गर्दैगर्दा पानीकाे हाहाकार भयाे पानीकाे व्यवस्थापनमा हामीले प्रायः बजेट खन्याएका छाैँ ।
बुँदागत रूपमा भन्ने हाे भने,
- करिब २८ सय घरधुरीलाई निःशुल्क खानेपानी सुविधा उपलब्ध गराएँ ।
- रगत अभाव नहोस् भनेर नियमित रक्तदान कार्यक्रम सञ्चालन गरें र सिफारिसमार्फत वडावासीलाई निःशुल्क रगत उपलब्ध गराइयो ।
- दुर्घटना न्यूनिकरणका लागि संवेदनशील स्थानहरूमा स्पीड ब्रेकर निर्माण गरायाैँ ।
- सामुदायिक विद्यालयका विपन्न विद्यार्थीहरूलाई शैक्षिक सामाग्री, पोसाक, जुत्ता लगायतका सामाग्री वितरण गर्याै ।
- खेलकुदमा युवालाई लक्षित गर्दै वार्षिक क्रिकेट प्रतियोगिता आयोजना ।
- श्मशानघाट व्यवस्थापन गरेका छाैँ त्यसैगरी यसवडामा जाडोमा दाउरा व्यवस्थापन, कुकुरहरूका लागी जाडाेमा बस्ने बासस्थान बनायाैँ ।
- विशेषत धार्मीक सम्पदा संरक्षणमा धेरै काम गरेका छाैँ । मठ, मन्दीर, बाटाेघाटाे संरक्षणमा ध्यान दिएका छाैँ । यी कामहरू सीमित स्रोतमा गरेका थियाैँ ।
५) यहाँकाे पर्सा–२ का लागि स्पष्ट भिजन के हो ?
मेराे भिजन बुँदागत रूपमा भन्नुहुन्छ भने
- कृषि मल वितरणमा पारदर्शिता र सहज आपूर्ति गर्ने ।
- बेरोजगारी न्यूनीकरणका लागि सीपमूलक तालिम र स्वरोजगार कार्यक्रम गराउने ।
- झबरा लगायतका क्षेत्रमा नेटवर्क समस्याको समाधानका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने ।
- स्थानीय, प्रदेश र संघीय सरकारबीच प्रभावकारी समन्वय गरेर विकास गर्ने।
म जादुई छडी लिएर आएको होइन तर अरूले ३ दशकमा गर्न नसकेकाे काम मैले ३ वर्षमा गराएर देखाउने इमान्दारीपूर्वक पहल गर्छु ।
६) रास्वपाको संगठन कमजोर छ भन्ने आरोप छ नी ? कसरी जित्नुहुन्छ ?
त्यस्ताे हाेइन, हाम्रो क्षेत्रमा २६ वटै वडामा एकाइ समिति गठन भइसकेको छ । तीनवटै पालिकामा संरचना पूर्ण गठन छ । ७० भन्दा बढी टोलमा समिति बनिसकेको छ । संगठन छैन भन्ने आरोप निराधार हो ।
७) बेरोजगारी समस्या समाधानका लागि तपाईंको योजना के रहन्छ ?
रास्वपाको प्रतिबद्धता पत्रमा पाँच वर्षमा १२ लाख रोजगारी सिर्जना गर्ने उल्लेख छ । आईटी, सिलाइ–कटाइ, प्राविधिक तालिमजस्ता सीपलाई बजारसँग जोडेर रोजगारी सृजना गर्ने हाम्रो योजना रहन्छ ।
८) अन्त्यमा क्षेत्रवासिलाइ के सन्देश दिन चाहनुहुन्छ ?
पर्सा–२ का मतदाताले यसअघि धेरैलाई अवसर दिनुभएकाे छ । अब परिवर्तनको समय आएको छ । इमान्दारी, पारदर्शिता र निरन्तर जनसम्पर्क नै मेरो प्रतिबद्धता हो । यसपटक घण्टीमा मतदान गरी हामीलाइ बिजय बनाउन सबै मतदातामा अाग्रह गर्दछु ।