नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त भएपछि कुलमान घिसिङ अहिले विश्वभर रहेका शुभचिन्तकहरूसँग अन्तर्क्रिया गर्न व्यस्त छन् ।
उनले लोडसेडिङ अन्त्य गरे, घाटामा गएको प्राधिकरणलाई नाफामा ल्याए, र नेपाललाई विद्युत निर्यात गर्ने देश बनाउने योगदान दिए । मध्यपूर्व भ्रमणमा निस्किनुअघि गरिएको यो अन्तर्वार्तामा उनले देश, युवाशक्ति, र भविष्यका योजनाबारे आफ्ना विचार राखेका छन् । कुलमान घिसिङ ऊर्जा विकासको सफल उदाहरण मात्र होइनन्, उनी राष्ट्रसेवामा अझ योगदान दिन चाहने व्यक्तित्व पनि हुन् । उनको अनुभव, दृष्टिकोण र प्रतिबद्धता भविष्यमा पनि देशको समृद्धिको आधार बन्न सक्छ । थप अन्तर्वाता ...
प्रश्न: प्राधिकरणबाट बाहिरिएपछि अहिले के मा व्यस्त हुनुहुन्छ ?
प्राधिकरणबाट बाहिरिएपछि मलाई थोरै फुर्सद मिलेको छ । अहिले विभिन्न क्षेत्रका साथीभाइ, विज्ञहरूसँग छलफल गर्दैछु कि अब अगाडि के गर्ने । यस अवसरमा पुराना साथीहरूसँग भेटघाट पनि भइरहेको छ । मेरो करिब ३० वर्षको अनुभव र बाँकी रहेको उर्जा राष्ट्रको सेवा गर्न कसरी प्रयोग गर्न सकिन्छ भन्नेबारे सोचिरहेको छु। जहाँबाट बढी योगदान दिन सकिन्छ, म त्यही क्षेत्रमा लाग्नेछु ।
प्रश्न: अहिलेको विदेश भ्रमणको उद्देश्य के हो ? कुन-कुन देशको भ्रमण गर्दै हुनुहुन्छ ?
म खाडी मुलुकहरू — बहराइन, युएइ, ओमन र कतार — को भ्रमण गर्दैछु। नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई भेट्ने र उनीहरूको अवस्था बुझ्ने उद्देश्यले यात्रा गरिरहेको छु । विदेशमा रहनु भएका नेपालीहरूको संघर्ष, अनुभूति, र अनुभव बुझेर, त्यहाँको विकास हेरेर हामीले नेपालमा के गर्न सक्छौं भन्ने सन्देश लिन चाहन्छु ।
प्रश्न: विदेशबाट भित्रिएको रेमिट्यान्सलाई कसरी ऊर्जा विकास वा राष्ट्रनिर्माणमा प्रयोग गर्न सकिन्छ ?
नेपालको जीडीपीको एक चौथाईभन्दा बढी हिस्सा रेमिट्यान्सबाट आउँछ । गल्फ मुलुकबाट मात्र १५ खर्बभन्दा बढी रेमिट्यान्स आउँछ । यसको १०% मात्रै सही रूपमा लगानी गर्न सक्यौं भने २ खर्ब रुपैयाँ हरेक वर्ष लगानी गर्न सकिन्छ । विद्युत, जलविद्युत, कृषि, पर्यटनजस्ता क्षेत्रमा लगानी गर्न सकिने विशाल सम्भावना छ। तर विश्वासको वातावरण बनाउन सरकारको जिम्मेवारी हुन्छ ।
प्रश्न: प्रवासमा रहेका नेपालीहरूको समस्याबारे के भन्नुहुन्छ? शव ल्याउन सकिएको छैन, कैयौँ जेलमा छन् .
यो गम्भीर समस्या हो । कानुनी प्रक्रिया, दूतावासको जनशक्ति अभाव आदिले गर्दा समस्याहरू जटिल छन् । सरकारले दूतावासहरूलाई सशक्त बनाउनुपर्छ । विदेशमा काम गर्न गएकाहरूका लागि सुरक्षा, कानुनी सहायता, र शव व्यवस्थापन जस्ता कुरामा तत्काल सुधार ल्याउनु आवश्यक छ ।
प्रश्न: रोजगारी र उत्पादनका क्षेत्रमा नेपालमा के सम्भावना छन् ?
नेपालमा बाख्रापालन, तरकारी खेती, हाइड्रो पावर, प्रसारण लाइन, आईटी र पर्यटन जस्ता क्षेत्रमा लाखौँ रोजगारी सिर्जना गर्न सकिन्छ । कतारको ३.५ लाख जनसंख्या छ तर उसले २५ लाख विदेशीलाई रोजगारी दिएको छ। हामी पनि सक्दछौं तर वातावरण बनाउनु जरुरी छ । सीप सिकेका नेपालीलाई स्वदेशमै लगानी र उद्यममा लगाउने नीति ल्याउनुपर्छ ।
प्रश्न: बिचौलियाहरूको भूमिकाबारे के भन्नुहुन्छ ?
नेपालको अर्थतन्त्र बिगार्ने मुख्य कारण नै बिचौलिया तन्त्र हो । चाहे कृषि होस् वा वैदेशिक रोजगार, बिचौलियाहरूको नाफाखोरीले सीधा श्रमिक र किसान मारमा परेका छन् । यो अन्त्य गर्न कानुनी सुधार, बजार व्यवस्थापन, र सरकारी निगरानी जरुरी छ ।
प्रश्न: भविष्यमा राजनीतिमा प्रवेश गर्नुभयो भने प्रवासी नेपालीका मुद्दा कसरी उठाउनुहुन्छ ?
अहिले म खाडी मुलुकहरू भ्रमण गरेर नेपालीहरूको अवस्था बुझ्न चाहन्छु। नेपालमा आर्थिक क्रान्तिका लागि युवाशक्तिलाई देश फर्काउनु पर्छ । त्यसका लागि तीन कुरा मुख्य छन् — सेवा प्रवाहमा विश्वास, सुशासन, र विकासप्रति प्राथमिकता । यी कुरामा सरकार सफल भयो भने प्रवासी नेपाली स्वतः देश फर्कन्छन् ।