बारामा राष्ट्रिय आर्थिक गणना–२०८२ अन्तर्गत हालसम्म झण्डै ८३ प्रतिशत स्थलगत तथ्याङ्क संकलन सम्पन्न भएको छ ।
नेपाल सरकारको राष्ट्रिय तथ्याङ्क कार्यालयद्वारा सञ्चालन भइरहेको आर्थिक गणना अभियानअन्तर्गत जिल्लाभर गणक तथा सुपरिवेक्षकहरू सक्रिय रूपमा खटिएका छन् । यसै सन्दर्भमा जिल्ला आर्थिक गणना कार्यालय, बाराका जिल्ला आर्थिक गणना अधिकारी राजेश दाससँग गरिएको कुराकानी ।
राष्ट्रिय आर्थिक गणना–२०८२ भनेको के हो ?
राष्ट्रिय आर्थिक गणना–२०८२ नेपाल सरकारद्वारा सञ्चालन गरिएको महत्वपूर्ण राष्ट्रिय अभियान हो। निश्चित प्रशासनिक क्षेत्रभित्र सञ्चालन भइरहेका उद्योग, व्यापार तथा सेवा क्षेत्रका प्रतिष्ठानहरूको आर्थिक विवरण सङ्कलन, तथ्याङ्क उत्पादन तथा वितरण गर्ने प्रक्रिया नै आर्थिक गणना हो। नेपालले पहिलोपटक वि.सं. २०७५ मा आर्थिक गणना सम्पन्न गरेको थियो।
आर्थिक गणना किन आवश्यक छ ?
आर्थिक गणनाले देशको वास्तविक आर्थिक अवस्था पहिचान गर्न मद्दत गर्छ । यसबाट उद्योग तथा व्यवसायसम्बन्धी आधारभूत तथ्याङ्क प्राप्त हुन्छ, जसले नीति निर्माणमा सहयोग पुर्याउँछ ।
यसले राष्ट्रिय तथा स्थानीय स्तरमा आर्थिक सम्भाव्यता पहिचान, रोजगारीको अवस्था मूल्याङ्कन, लगानी प्रवर्द्धन तथा देशको कुल गार्हस्थ उत्पादनमा विभिन्न क्षेत्रको योगदान निर्धारण गर्न महत्वपूर्ण भूमिका खेल्छ ।
व्यवसायीहरूले उपलब्ध गराएको विवरण गोप्य रहन्छ ?
अवश्य रहन्छ। तथ्याङ्क ऐन, २०७९ अनुसार सबै विवरण पूर्ण रूपमा गोप्य राखिन्छ । ती तथ्याङ्क केवल सांख्यिकीय प्रयोजनका लागि सामूहिक रूपमा प्रयोग गरिन्छ, व्यक्तिगत विवरण सार्वजनिक हुँदैन ।
बारा जिल्लामा हालसम्मको प्रगति कस्तो छ ?
हालसम्म बारा जिल्लामा करिब ८३ प्रतिशत स्थलगत तथ्याङ्क संकलन सम्पन्न भएको छ । जिल्लाका सबै पालिकामा गणक तथा सुपरिवेक्षक टोली सक्रिय छन् ।
विशेषगरी कलैया उपमहानगरपालिका, जितपुरसिमरा उपमहानगरपालिका, निजगढ नगरपालिका तथा महागढीमाई नगरपालिका क्षेत्रमा राम्रो प्रगति भएको छ । औद्योगिक तथा व्यस्त व्यापारिक क्षेत्रमा भने अझै विवरण सङ्कलन जारी छ ।
यस गणनामा कुन–कुन क्षेत्र समेटिएका छन् ?
यस गणनामा औपचारिक तथा अनौपचारिक आर्थिक गतिविधि सञ्चालन गर्ने विभिन्न क्षेत्र समेटिएका छन् ।
यसअन्तर्गत कृषि, उद्योग, निर्माण, व्यापार, यातायात, होटल तथा रेष्टुरेन्ट, सूचना प्रविधि, बैंक तथा बीमा, शिक्षा, स्वास्थ्य, पर्यटन, मनोरञ्जन लगायतका सेवा क्षेत्रका प्रतिष्ठानहरू समावेश छन् ।
गणकहरूले के–कस्ता चुनौती सामना गरिरहेका छन् ?
कतिपय व्यवसायी कार्यालय वा पसलमा उपस्थित नहुनु, केहीले विवरण दिन हिच्किचाउनु, फोन सम्पर्क नहुनु तथा व्यस्त बजार क्षेत्रमा समय व्यवस्थापन गर्न कठिन हुनु मुख्य चुनौतीका रूपमा देखिएको छ ।
तर अधिकांश व्यवसायी तथा स्थानीय नागरिकबाट सकारात्मक सहयोग प्राप्त भइरहेको छ ।
व्यवसायीहरूको प्रतिक्रिया कस्तो पाउनुभएको छ ?
धेरैजसो व्यवसायीहरूले आर्थिक गणनालाई सकारात्मक रूपमा लिएका छन् ।
उनीहरूले सही तथ्याङ्क संकलन भए सरकारलाई उद्योग तथा व्यापार क्षेत्र लक्षित नीति बनाउन सहज हुने विश्वास व्यक्त गरेका छन् । कलैयाका एक व्यवसायीले, “पहिलोपटक यति व्यवस्थित ढंगले व्यवसायको विवरण सङ्कलन भइरहेको अनुभव भयो। सरकारले सही तथ्याङ्कका आधारमा योजना बनाओस् भन्ने वहाँकाे अपेक्षा थियाे ।” त्यस्तै, जितपुरसिमराका एक उद्योगीले, “औद्योगिक क्षेत्रको वास्तविक अवस्था सरकारसमक्ष पुग्नुपर्छ । यसले भविष्यमा लगानी र रोजगारी बढाउन मद्दत गर्न सक्छ ।” प्रतिक्रिया दिएका छन् ।
सुपरिवेक्षकहरूको भूमिका कस्तो रहेको छ ?
सुपरिवेक्षकहरूले गणकहरूको कामको अनुगमन, तथ्याङ्कको गुणस्तर परीक्षण तथा दैनिक प्रगति मूल्याङ्कन गरिरहेका छन् । कतिपय अवस्थामा उनीहरू स्थलगत निरीक्षणमा समेत सहभागी भइरहेका छन् । जिल्लामा हाल ६६ जना गणक र ९ जना सुपरिवेक्षक कार्यरत छन् ।
डाटा अपलोडमा कुनै समस्या देखिएको छ ?
केही स्थानमा इन्टरनेट तथा प्राविधिक समस्याका कारण डाटा अपलोडमा ढिलाइ भएको छ । विशेषगरी नेटवर्क कमजोर भएका क्षेत्रमा तथ्याङ्क अपलोड गर्न समय लागेको छ ।
तर सुपरिवेक्षकहरूसँग समन्वय गर्दै समस्या समाधान गर्ने काम भइरहेको छ ।
राष्ट्रिय तथ्याङ्क कार्यालयको भूमिका कस्तो छ ?
राष्ट्रिय तथ्याङ्क कार्यालय, थापाथली काठमाडौंले देशभर स्थापना भएका जिल्ला आर्थिक गणना कार्यालयमार्फत अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गरिरहेको छ । कार्यालयले गणक तथा सुपरिवेक्षकलाई आवश्यक प्राविधिक सहयोग, निर्देशन तथा सहजीकरण प्रदान गर्दै नियमित अनुगमनसमेत गरिरहेको छ ।
बारा जिल्लाको आर्थिक महत्व किन विशेष छ ?
बारा जिल्ला नेपालको महत्वपूर्ण औद्योगिक तथा व्यापारिक केन्द्रमध्ये एक हो ।
पथलैया औद्योगिक क्षेत्र, सिमरा करिडोर, सीमावर्ती व्यापारिक गतिविधि तथा विभिन्न बजारका कारण जिल्लाको आर्थिक गतिविधि निकै सक्रिय छ । यहाँ ठूला उद्योगदेखि साना घरेलु व्यवसायसम्मको उल्लेखनीय उपस्थिति रहेको छ ।
स्थानीय तह तथा अन्य निकायको सहयोग कस्तो छ ?
जिल्ला प्रशासन कार्यालय, उद्योग वाणिज्य संघ तथा जिल्लाका १६ वटै स्थानीय तहबाट सकारात्मक सहयोग प्राप्त भइरहेको छ । सबैले सामाजिक सञ्जालमार्फत समेत “राष्ट्रिय आर्थिक गणना–२०८२ मा सहभागी बनौं” भन्ने सन्देश प्रवाह गरिरहेका छन् ।
नागरिकहरूले किन सहयोग गर्नुपर्छ ?
राष्ट्रिय आर्थिक गणना देशको आर्थिक भविष्यसँग जोडिएको अभियान हो । सही तथ्याङ्कका आधारमा मात्रै प्रभावकारी योजना निर्माण गर्न सकिन्छ । त्यसैले गणकहरू व्यवसाय स्थल वा घरदैलोमा पुगेका बेला सही विवरण उपलब्ध गराउनु सबै नागरिकको जिम्मेवारी हो ।
बाँकी काम कहिलेसम्म सम्पन्न हुने अपेक्षा छ ?
बाँकी क्षेत्रको तथ्याङ्क संकलन तीव्र गतिमा भइरहेको छ ।
सबै अवस्था अनुकूल रहेमा तोकिएकै अवधि अर्थात् २०८३ असार ७ गतेभित्र सम्पूर्ण स्थलगत विवरण संकलन सम्पन्न हुने अपेक्षा गरिएको छ ।