व्यवसायिक पृष्ठभूमिबाट राजनीतिमा प्रवेश गरी नेकपा (एमाले) बाट चुनावी मैदानमा उत्रिनुभएका पर्सा निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रुपेश कुमार पाण्डेसँगकाे विशेष अन्तरवार्ता
सर्वप्रथम, तपाईं व्यवसायमा स्थापित व्यक्ति त्यस्तो के पाउनुभएन व्यापारबाट राजनीतिमा आउनुपर्ने अवस्था आयो ?
म आफ्नो परिचयबाट सुरु गर्न चाहन्छु । म रुपेश कुमार पाण्डे, पर्सा जिल्ला पकाहा मैनपुर गाउँपालिका–३ को स्थायी बासिन्दा हुँ । मैले आफ्नो अध्ययन यही क्षेत्रकै पोखरिया हाईस्कुलबाट एसएलसी पास गरेँ र त्यसपछि वीरगञ्जको ठाकुरराम क्याम्पसबाट स्नातक पूरा गरेँ । विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय थिएँ ।
२०४८ सालदेखि २०८२ सालसम्मको यात्रामा मैले आफ्नो क्षेत्रका वास्तविक समस्या नजिकबाट देखेँ—किसानका पिरमर्का, स्वास्थ्य र शिक्षाको अवस्था, सडक र पूर्वाधारको अभाव । पछिल्ला साढे तीन वर्षमा ३५ वडाका १०७ गाउँ घुमेर समस्याको अध्ययन (डायग्नोसिस) गरेको छु । अब ती समस्याको समाधानका लागि स्पष्ट योजना बनाएर राजनीतिमा आएको हुँ ।
क्षेत्र नम्बर २ का प्रमुख समस्या
तपाईंकाे क्षेत्रमा तपाईंले पहिचान गर्नुभएको मुख्य समस्या के–के हुन् ?
मैले मेराे क्षेत्रमा स्वास्थ्य क्षेत्रमा चिकित्सक र औषधिको अभाव, शिक्षामा गुणस्तर र अनुगमनको कमी, कृषिमा मल–बीउ, सिंचाइ र बजारीकरणको समस्या, कोल्ड स्टोर नहुनु, आठ–आठ वर्षदेखि अलपत्र सडक र पुल लगायतका हुन् । यसमा उदाहरणका लागि, पटेरवा–सुगौली अस्पताल भवन बनेको छ तर डाक्टर छैन । सर्पदंशको बिरामीलाई वीरगञ्ज ल्याउनुपर्छ । किसानको उत्पादन भण्डारण र बजारसम्म पुर्याउने व्यवस्था छैन ।
मैले योजना बनाएको छु—कुन मन्त्रालयबाट, कुन विभागसँग समन्वय गरेर समस्या समाधान गर्ने भन्ने स्पष्ट खाका तयार छ । म भन्छु, “तीन वर्ष इज इनफ” — यदि इच्छाशक्ति छ भने ।
विगत ३० वर्षमा विभिन्न दलका सांसद भए । तर विकास भएन । तपाईं तीन वर्षमा गर्ने दाबी गर्नुहुन्छ, कसरी सम्भव छ ?
समस्या इच्छाशक्तिको हो । धेरैले सांसद भएपछि मन्त्री बन्ने सोच राखे । मेरो सोच मन्त्री बन्ने होइन, क्षेत्रको समस्या समाधान गर्ने हो ।
सांसदले राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय, सहरी विकास, कृषि मन्त्रालयसँग समन्वय गर्नुपर्छ । चारै जना सांसद मिलेर बजेट मागे भने विकास असम्भव छैन । मन्त्रीको कुर्सीमा बसेर होइन, मैदानमा खटिएर काम गर्नुपर्छ ।
तपाईंले समाजमा समान व्यवहारको कुरा गर्नुभयो ।
एक घटना सम्झिन्छु । गाउँपालिकाध्यक्षको छोरीको विवाहमा सबै नेता पुगे, तर बाटोमै एउटा दलितको घरमा पनि विवाह थियो—कोही पुगेन । म त्यहीँ बसेँ । त्यो दिन मैले निर्णय गरेँ—राजनीति भनेको सबैलाई समान व्यवहार गर्नु हो । जात, वर्ग, धनी–गरिब छुट्याउने सोचबाट बाहिर निस्कनुपर्छ ।
विपक्षीले तपाईंको घरमा रक्सीको गोदाम रहेको आरोप लगाएका छन् त्याे कुरा के हाे ?
म जाँड–रक्सी सेवन गर्दिनँ। घरमा सानो सजावटी बार छ, त्यो शौकका लागि हो । आरोप लगाउनु सजिलो हुन्छ, तर प्रमाणित हुनु अलग कुरा हो ।
तपाईंको पार्टीका केही नेतामाथि भ्रष्टाचार मुद्दा छन्। यसबारे के भन्नुहुन्छ ?
आरोप र प्रमाणित हुनु फरक कुरा हो । अदालतले निर्णय गर्छ । म न्यायाधीश होइन । काम गर्ने क्रममा गल्ती हुन सक्छ, तर भ्रष्टाचार प्रमाणित हुनुपर्छ । मेरो व्यक्तिगत सोच स्पष्ट छ—“खाने दाल–रोटी हो, जाने पशुपतिको आर्यघाट हो ।” अन्तिम सत्य त्यही हो । त्यसैले मैले राजनीति सेवा भावले रोजेको हुँ ।
रोजगारी र युवा
स्थानीयस्तरमा रोजगारी सृजनाबारे तपाईंको योजना के छ ?
एसएलसी पास गरेका सयौँ युवा विदेश गएका छन् । यदि कृषिलाई मल, सिंचाइ, बजार र सडक दिएर सशक्त बनायौँ भने विदेश पलायन घट्छ ।
पोखरिया–वीरगञ्ज सडक सुधारिए उद्योग विस्तार हुन्छ । दक्ष जनशक्ति उत्पादनका लागि सीप तालिम आवश्यक छ । भारतीय कामदार किन आउँछन्? किनभने उनीहरू दक्ष छन् । हामीले पनि सीप सिक्नुपर्छ ।
जेन–जी आन्दोलन र आरोप
जेन–जी आन्दोलनपछि एमाले र केपी ओलीमाथि आरोप छन् । त्यसको असर कत्तिको छ ?
नेकपा एमाले देशको मेरुदण्ड हो । आन्दोलनका जायज मागलाई म समर्थन गर्छु । तर हिंसा र अराजकता समाधान होइन । युवालाई अवसर दिनुपर्छ । एमालेले युवालाई टिकट दिएको छ—यो परिवर्तनको संकेत हो ।
चुनावी खर्च कसरी व्यवस्थापन गर्दै हुनुहुन्छ ?
निर्वाचन आयोगको निर्देशन अनुसार खाता खोलेर पारदर्शी रूपमा खर्च भइरहेको छ । मेरो आय–स्रोत व्यापार र कर तिरेको आम्दानी हो ।
हाम्रो अभियानमा भुजा–पकौडी खाएर पनि कार्यकर्ता खटिरहेका छन् । मासुभात नभए पनि समर्पण छ ।
किन रुपेश पाण्डेलाई भोट दिने ?
- म क्षेत्रको यथार्थ समस्या बुझेको व्यक्ति हुँ ।
- साढे तीन वर्ष अध्ययन गरेर योजना बनाएको छु ।
- जनताको फोन उठाउँछु, समस्या सुन्छु ।
- तीन वर्षभित्र ठोस परिणाम दिने प्रतिबद्धता गर्दछु ।
९६ हजारभन्दा बढी मतदाता रहेको यस क्षेत्रमा करिब ६५ हजार मत खस्छ । म भन्छु—५५ देखि ६० प्रतिशत मत एक्लै ल्याउँछु । बाँकी मतमा अरू प्रतिस्पर्धा हुनुहुन्छ ।
मलाई जनताको विश्वास छ, र त्यो विश्वास मेराे टुट्न दिदैन् ।