राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट पर्सा निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार सुशील कुमार कानुले शनिवार वीरगञ्ज महानगरपालिका–२९ बसडिलवा र बहुदरमाई नगरपालिका–२ सीसीयाडी क्षेत्रमा घरदैलो अभियान सञ्चालन गरेका छन् ।
घरदैलोका क्रममा कानुले मतदातासँग भेट गर्दै कुशासन र भ्रष्टाचार अन्त्य गर्न र परिवर्तन ल्याउन घण्टी चुनाव चिन्हमा मतदान गर्न आग्रह गरे । उनले पछिल्लो चार दशकदेखि चल्दै आएको राजनीतिक चक्रव्यूह तोडेर विधिको शासन स्थापना गर्ने, जनताको जीवनस्तर उकास्ने र समृद्ध नेपाल निर्माण गर्ने लक्ष्यसहित रास्वपाले चुनाव लडिरहेको बताए ।
कानुले पर्सा जिल्लाको आर्थिक, भौगोलिक र कूटनीतिक महत्त्व औँल्याउँदै भने, “यहाँबाट निर्वाचित सांसद तथा मन्त्रीहरूले बेवास्ता गर्दा जिल्लाको विकास हुन सकेन । शिक्षा, स्वास्थ्य, पूर्वाधार र सडकको अवस्था अत्यन्त जीर्ण छ । अघिल्ला प्रतिनिधिहरूले व्यक्तिगत स्वार्थ पूरा गर्न मात्र लगानी गरे ।”
निर्वाचित भए रास्वपा नेतृत्वको सरकारले पर्साको कायापलट गर्ने गरी ठुला विकास योजनाहरू ल्याउने कानुले प्रतिबद्धता जनाए । कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधारलाई प्राथमिकता दिई जनताका आधारभूत आवश्यकतामा केन्द्रित कार्यक्रम सञ्चालन गर्ने योजना उनले सार्वजनिक गरे । “स्थानीय तहदेखि सङ्घीय तहसम्म समन्वय गरी योजनाबद्ध विकास अघि बढाइनेछ,” उनले थपे ।
कृषि क्षेत्रका समस्या औँल्याउँदै कानुले किसानलाई समयमै मल उपलब्ध गराउने व्यवस्था मिलाउने र युवालाई सीपमूलक तालिम दिई स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने बताए । “युवाले गाउँमै काम पाए भने वैदेशिक रोजगारीको बाध्यता घट्छ,” उनले भने ।
घरदैलोमा सहभागी स्थानीय बासिन्दाले शिक्षा, स्वास्थ्य, सडक र खानेपानीमा सुधार नहुँदा हुने समस्या गुनासो गरे । कानुले जनताको आवाज संसद्मा पुर्याउने र विकासमा ठोस परिणाम देखिने गरी काम गर्ने प्रतिबद्धता दोहोर्याए ।
कार्यक्रममा सहभागी स्थानीय युवाहरूले ‘परिवर्तनको समय आएको’ भन्दै रास्वप्रति आकर्षण बढिरहेको प्रतिक्रिया दिए । ज्येष्ठ नागरिक तथा महिलाहरूले पनि “यसपालि सोचेर मतदान गर्ने र सुशासन तथा जबाफदेहितालाई प्राथमिकता दिने” बताए ।