प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा बारा क्षेत्र नम्बर ३ मा नयाँ र पुराना राजनीतिक शक्तिबीचको प्रतिस्पर्धा रोचक बन्दै गएको छ ।
लामो समयदेखि एउटै अनुहारले नेतृत्व गर्दै आएको भन्दै मतदाताले यसपटक नयाँ र योग्य उम्मेदवार रोज्ने संकेत देखिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार ई. अरविन्द साह पछिल्ला दिनहरूमा क्षेत्रका विभिन्न टोल–टोलमा घरदैलो अभियान सञ्चालन गर्दै मतदातासँग प्रत्यक्ष संवाद गरिरहेका छन् ।
घरदैलोका क्रममा उनले विगतका निर्वाचित प्रतिनिधिहरू जनतासँग निरन्तर सम्पर्कमा रहन नसकेको टिप्पणी गर्दै परिणाममुखी नेतृत्व आवश्यक भएको बताएका छन् । मतदातासँग कुरा गर्दै साहले भने, “चुनावको बेला मात्रै जनताको घरमा पुग्ने र जितेपछि पाँच वर्ष नदेखिने राजनीतिक संस्कार अब अन्त्य हुनुपर्छ । मेरो पहिलो प्राथमिकता जनताको विश्वास फर्काउने र काममार्फत राजनीति प्रमाणित गर्ने हो ।”
उनले बाराको समग्र विकासका लागि पाँच प्रमुख एजेन्डा अघि सारेका छन् । रोजगारी सिर्जना, कृषि आधुनिकीकरण, उद्योग प्रवर्द्धन, शिक्षा तथा स्वास्थ्य सेवाको गुणस्तर सुधार र सुशासनलाई उनले प्राथमिकतामा राखेका छन् ।
साहका अनुसार बारामा उद्योग स्थापनाको ठूलो सम्भावना रहे पनि नीतिगत जटिलता र पूर्वाधार अभावका कारण लगानी आकर्षित हुन सकेको छैन । “संसदमा पुगेपछि उद्योगमैत्री वातावरण निर्माणका लागि पहल गर्नेछु । युवालाई विदेश पलायन हुन बाध्य बनाउने होइन, यहीँ अवसर सिर्जना गर्ने लक्ष्य छ,” उनले भने ।
कृषि क्षेत्रलाई आयमुखी बनाउन बजार व्यवस्थापन, भण्डारण तथा आधुनिक प्रविधि विस्तार अपरिहार्य रहेको उनको भनाइ छ । “किसानले उत्पादन गर्छन् तर उचित मूल्य पाउँदैनन् । कृषि र उद्योगलाई जोडेर स्थानीय अर्थतन्त्र मजबुत बनाउनु मेरो एजेन्डा हो,” उनले बताए । साहले सुशासन र पारदर्शितालाई आफ्नो अभियानको केन्द्रमा राखेको उल्लेख गर्दै राजनीति सेवा र जिम्मेवारी भएको धारणा व्यक्त गरे । “खर्च, योजना र निर्णय सार्वजनिक गर्ने अभ्यास संस्थागत गर्नुपर्छ,” उनले जोड दिए ।
देशमा नयाँ राजनीतिक सोच आवश्यक रहेको उल्लेख गर्दै उनले प्रत्यक्ष र समानुपातिक दुवै तर्फ घण्टी छापमा मतदान गर्न मतदातासँग आग्रह गरेका छन् । विकास र परिणाममुखी राजनीतिलाई अबको प्राथमिकता बनाउनुपर्ने उनको भनाइ छ ।
यसैबीच, नेपाली कांग्रेसको आन्तरिक सर्वेक्षणको स्थानीय विवरणअनुसार बारा क्षेत्र नम्बर ३ मा कांग्रेस र एमालेको अवस्था अपेक्षाकृत कमजोर देखिएको र नयाँ शक्तिका रूपमा रास्वपाका उम्मेदवार साह प्रतिस्पर्धामा अगाडि देखिएको दाबी गरिएको छ । स्थानीय राजनीतिक विश्लेषकहरूका अनुसार युवा मतदाताको झुकाव, सक्रिय घरदैलो अभियान र परिवर्तनको एजेन्डाले यस क्षेत्रमा प्रतिस्पर्धा थप रोचक बनाएको छ ।
“यो चुनाव व्यक्ति जिताउने होइन, राजनीतिक संस्कार बदल्ने अवसर हो,” साहले भने, “जनताको भरोसा जितेर काम गर्ने अठोट लिएको छु ।”