वीरगंज महानगरपालिका–११ श्रीपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को निर्वाचन परिचालन समिति अध्यक्ष त्रिनेत्र गिरिको अध्यक्षतामा सम्पन्न घरदैलो कार्यक्रममा क्षेत्र नम्बर–१ मा चुनावी माहोल थप तातिएको छ ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य उम्मेदवार हरि पन्त स्वयं उपस्थित भई मतदातासँग प्रत्यक्ष संवादमा समेत गरेका छन् । श्रीपुरमा आयोजित कार्यक्रममा स्थानीयबासीले पन्तलाई उत्साहपूर्ण स्वागत गरेका थिए । घर–घर पुगेर जनताको समस्या, अपेक्षा र सुझाव सुन्दै पन्तले शिक्षा, स्वास्थ्य, रोजगारी र सुशासनलाई आफ्नो मुख्य प्राथमिकता बनाउने प्रतिबद्धता दोहोर्याए । उनले भने, “राजनीति परिवर्तनका लागि हो, अवसरका लागि होइन । पारदर्शिता र उत्तरदायित्वमा आधारित नेतृत्व आवश्यक छ ।” त्यसैगरी वीरगंज महानगरपालिका–१६ अन्तर्गत नगवा, इनर्वा, फुलवारी टोल लगायतका क्षेत्रमा पनि व्यापक घरदैलो सम्पन्न गरेको छ ।
वार्ड–१६ का बासी चन्दन पण्डितको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानीयवासीको उल्लेख्य सहभागिता देखिएको थियो । टोल–टोलमा पुगेका पन्तलाई युवादेखि ज्येष्ठ नागरिकसम्मले साथ र समर्थन व्यक्त गरेका थिए । घरदैलोका क्रममा स्थानीयले खानेपानी, सडक स्तरोन्नति, नाला व्यवस्थापन, युवाका लागि रोजगारी सिर्जना र सुशासनमा चासो व्यक्त गरेका थिए । पन्तले ती सबै विषयलाई आफ्नो कार्ययोजनामा समेट्ने आश्वासन दिँदै विगतका प्रतिनिधिहरूले गर्न नसकेका कामहरू आफूले परिणामसहित पूरा गर्ने दाबी गरे ।
रास्वपाको अभियानमा देखिएको जनसमर्थनले क्षेत्र नम्बर–१ मा प्रतिस्पर्धा रोचक बन्दै गएको संकेत दिएको छ । घरदैलोमा सहभागी कार्यकर्ताहरूका अनुसार विभिन्न टोलहरूमा अभियान गर्दा जनताको सकारात्मक प्रतिक्रिया पाइरहेको छ। विशेषगरी युवा पुस्ता परिवर्तनको पक्षमा उभिएको उनीहरूको भनाइ छ ।
श्रीपुरदेखि नगवासम्म फैलिएको घरदैलोमा महिलाहरूको पनि सक्रिय सहभागिता देखिएको थियो । उनीहरूले सामाजिक सुरक्षा, शिक्षा र स्वास्थ्य सेवामा सुधारको अपेक्षा राखेका थिए। पन्तले महिलाको सशक्तीकरण र सहभागितालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाए ।
चुनावी प्रचारप्रसार तीव्र बन्दै जाँदा हरि पन्तको घरदैलो अभियानले क्षेत्र नम्बर–१ मा रास्वपाको संगठनात्मक मजबुती र जनआधार विस्तार भएको संकेत गरेको छ । स्थानीय तहदेखि संघीय तहसम्म सुशासन र पारदर्शिताको मुद्दा उठाउँदै आएका पन्त यसपटक आफूलाई परिवर्तनको विकल्पका रूपमा प्रस्तुत गरेका छन् ।
रास्वपाले घरदैलो अभियानलाई निरन्तरता दिने तयारी गरेको छ । जनताको प्रत्यक्ष सहभागिता र समर्थनले उत्साहित बनेका पन्तले भने, “मत परिवर्तनका लागि मात्र होइन, व्यवस्था सुधारका लागि आवश्यक छ,” भन्दै मतदातालाई सचेत निर्णय लिन आग्रह गरेका छन् ।