काठमाडौं | रंगहरूको पर्व होली आज काठमाडौं उपत्यकासहित देशका पहाडी तथा हिमाली जिल्लाहरूमा हर्षोल्लासपूर्वक मनाइँदै छ । फागु पूर्णिमाका अवसरमा सरकारले आज पहाडी जिल्लाहरूमा सार्वजनिक बिदा दिएको छ ।
हरेक वर्ष फाल्गुण शुक्ल पूर्णिमाका दिन पहाडी तथा हिमाली जिल्लामा र त्यसको भोलिपल्ट तराई तथा भित्री मधेशका जिल्लाहरूमा होली पर्व मनाउने परम्परा रहेको छ ।
असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको तथा दुराचारमाथि सदाचारको विजय भएको खुशियालीमा मनाइने यस पर्वमा आपसी रिसराग त्यागी प्रेमभाव र आत्मीयताका साथ आफन्तजन तथा साथीसंगीबीच अबिर र रंग दलेर रमाइलो गर्ने चलन छ ।
होलीलाई आपसी मेलमिलाप, सद्भावना र भाइचाराको सन्देश दिने पर्वका रूपमा पनि लिइन्छ । विभिन्न रङ्गीचङ्गी कपडाले सजाइएको चीर ठड्याएर प्रारम्भ हुने होली पर्व पूर्णिमाको राति चीर दाह गरेपछि समापन हुने गर्दछ ।
यसैबीच, होलीको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली लगायत विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूले शुभकामना सन्देश दिँदै मर्यादित र सभ्य ढंगले होली मनाउन आग्रह गरेका छन् ।
प्रहरी प्रशासनले पनि होली पर्वको नाममा उच्छृङ्खल गतिविधि नगर्न, जथाभावी रंग तथा अबिर नदल्न र सार्वजनिक शान्ति भंग गर्ने कार्यबाट टाढा रहन सबैलाई सचेत गराएको छ । अन्यथा कानुनअनुसार कारबाही गरिने चेतावनी दिइएको छ ।