काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत देशभर मतदान प्रक्रिया सम्पन्न भएसँगै अब १६५ वटै निर्वाचन क्षेत्रमा मतगणनाको तयारी सुरु गरिएको छ । निर्वाचन आयोगका अनुसार सबै मतदान केन्द्रबाट मतपेटिकाहरू सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा संकलन भएपछि मतगणना प्रक्रिया औपचारिक रूपमा सुरु गरिनेछ ।
मतगणना अघि प्रत्येक निर्वाचन क्षेत्रमा राजनीतिक दलका प्रतिनिधिहरूको उपस्थितिमा सर्वदलीय बैठक बस्ने व्यवस्था गरिएको आयोगले जनाएको छ । उक्त बैठकले मतगणना गर्ने स्थान, समय तथा प्रक्रिया सम्बन्धी सहमति जुटाएपछि गणना सुरु हुनेछ ।
निर्वाचन आयोगले प्रत्यक्ष (पहिलो हुने निर्वाचित हुने) प्रणालीअन्तर्गतको नतिजा गणना सुरु भएको करिब २४ घण्टाभित्र सार्वजनिक गर्ने लक्ष्य राखेको जनाएको छ । प्रत्यक्षतर्फको अन्तिम परिणाम सार्वजनिक भएपछि मात्र समानुपातिक प्रणालीतर्फको मतगणना सुरु गरिने तयारी रहेको आयोगको भनाइ छ ।
हाल देशभरका विभिन्न मतदान केन्द्रबाट मतपेटिका संकलन गर्ने कार्य तीव्र रूपमा भइरहेको छ । सुरक्षा निकायको निगरानीमा मतपेटिका सुरक्षित रूपमा निर्वाचन अधिकृतको कार्यालयमा ल्याइँदै छ ।