लामो समयदेखि डम्पिङ साइटका रूपमा प्रयोग हुँदै आएको जनकपुरधाम उपमहानगरपालिका–३ स्थित देवान पोखरीबाट निकालिएको फोहोर पोखरी आसपासमै जलाउन थालिएपछि स्थानीयवासीले सास्ती भोग्नुपरेको छ । पोखरीको सरसफाइ तथा सौन्दर्यीकरणका नाममा निकालिएको फोहोर बस्ती नजिकै जलाउँदा निस्कने धुवाँले स्थानीयको जनजीवन प्रभावित भएको हो ।
जानकी टोलस्थित देवान पोखरी वरपर बाक्लो बस्ती रहेको छ । पोखरीबाट निकालिएको फोहोर बस्ती नजिकै जलाउँदा धुवाँ फैलिने र त्यसले श्वासप्रश्वासमा समेत समस्या हुने गरेको स्थानीयले बताएका छन् । पोखरी सफा गर्ने नाममा फोहोर निकालिए पनि त्यसको उचित व्यवस्थापन नहुँदा आफूहरूले थप समस्या भोग्नुपरेको उनीहरूको गुनासो छ ।
विगतका वर्षहरूमा पनि पोखरीको सरसफाइ गरिएको दाबी गरिए पनि अहिले पुनः ठूलो परिमाणमा फोहोर निकालिएपछि सरसफाइको प्रभावकारितामाथि प्रश्न उठेको छ । पोखरीबाट निकालिएको फोहोर उचित स्थानमा व्यवस्थापन गर्नुको सट्टा त्यही क्षेत्रमा जलाउँदा सरसफाइको उद्देश्य नै प्रभावित भएको स्थानीय भगवान झाले बताउनुभयो ।
उहाँका अनुसार यसअघि पनि पोखरीलाई जलाशयका रूपमा संरक्षण गर्नुको सट्टा डम्पिङ साइटका रूपमा प्रयोग गरिँदै आएको थियो । पोखरीको समस्या समाधान गर्न उपमहानगरपालिका र वडा कार्यालयले प्रभावकारी कदम नचालेको उहाँको आरोप छ ।
“जनकपुरधामको प्रमुख समस्या फोहोर र पोखरी अतिक्रमण हो। तर, यहाँ सफाइको नाममा स्थानीयले सास्ती भोग्नुपरेको छ। फोहोरलाई बस्तीभन्दा टाढा लगेर विसर्जन गर्नुपर्छ,” झाले भन्नुभयो ।
पोखरीको डिलबाट करिब २० फिटको दूरीमा घर रहेका ज्येष्ठ नागरिक सुदर्शनलाल कर्णले पनि फोहोर जलाउँदा निस्कने धुवाँले श्वासप्रश्वासमा समस्या भएको बताउनुभयो। “यसरी बस्तीबीचमै फोहोर जलाउनु उचित होइन,” उहाँले भन्नुभयो ।
१२ वर्ष बित्दा पनि पोखरी फोहोर फाल्ने ठाउँमै सीमित
२०७२ सालमा जनकपुर क्षेत्र विकास परिषद्ले अतिक्रमित पोखरी खाली गराउने क्रममा पोखरी आसपासका संरचना हटाएको थियो । तर, त्यसयता लामो समय बितिसक्दा पनि पोखरीको संरक्षण र व्यवस्थित व्यवस्थापन हुन नसकेको स्थानीयको गुनासो छ । पोखरी फोहोर फाल्ने ठाउँका रूपमा परिणत हुँदा यसको पर्यावरणीय र सांस्कृतिक महत्त्वसमेत ओझेलमा परेको उनीहरू बताउँछन् ।
पोखरीको संरक्षण तथा सौन्दर्यीकरणका लागि गरिने कामले स्थानीयलाई राहत दिनुपर्नेमा फोहोर जलाउँदा उनीहरू थप समस्यामा परेका छन् । सरसफाइका क्रममा निस्कने फोहोरको सुरक्षित व्यवस्थापन गर्नुको सट्टा बस्ती नजिकै जलाइनुले वातावरणीय प्रदूषण र जनस्वास्थ्यसम्बन्धी जोखिम बढाएको स्थानीयको भनाइ छ ।
एक करोड ६९ लाखभन्दा बढीको सौन्दर्यीकरण आयोजना
जनकपुरधाम उपमहानगरपालिकाले देवान पोखरीको सौन्दर्यीकरणका लागि भ्याटबाहेक एक करोड ६९ लाख ३८ हजार १२० रुपैयाँ लागतको आयोजना सञ्चालन गरेको छ । उक्त आयोजना २०८४ साल जेठ ३१ गतेसम्म सम्पन्न गर्ने गरी सम्झौता गरिएको हो ।
गत जेठमा सम्झौता भएको आयोजनाको पाँच महिना बितिसक्दा पनि पोखरीबाट फोहोर निकाल्ने काम पूर्ण रूपमा सम्पन्न नभएको स्थानीयवासीको भनाइ छ । सौन्दर्यीकरणका लागि बजेट खर्च भइरहँदा पनि पोखरीको फोहोर व्यवस्थापन र संरक्षणमा प्रभावकारी काम हुन नसकेको भन्दै उनीहरूले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।
पोखरीको सौन्दर्यीकरणसँगै फोहोरको उचित व्यवस्थापन, बस्तीलाई धुवाँबाट जोगाउने उपाय र जलाशयको दीर्घकालीन संरक्षणमा ध्यान दिनुपर्ने स्थानीयको माग छ । अन्यथा, सौन्दर्यीकरणका नाममा सञ्चालन गरिएको आयोजना नै स्थानीयका लागि थप सास्तीको कारण बन्ने उनीहरूको चिन्ता छ ।