अमेरिकाबाट कुरियरमार्फत कागजातको आवरणमा ल्याइएको एक किलोभन्दा बढी गाँजासहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।
लागुऔषध नियन्त्रण ब्युरो, कोटेश्वरबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरेको हो ।
ब्युरोका अनुसार मंगलबार अमेरिकाबाट कुरियरमार्फत ल्याइएको एक किलो ३३८ ग्राम गाँजा बरामद गरिएको थियो। प्रहरीले गाँजा बरामद गर्न ‘कन्ट्रोल डेलिभरी’ विधि प्रयोग गरेको जनाएको छ ।
पक्राउ पर्नेमा भारतको गुजरातस्थित अहमदाबादका २३ वर्षीय भवरसिंह र ३३ वर्षीय वन्दित पटेल रहेका छन् । प्रहरीले उनीहरूको साथबाट दुई थान मोबाइल फोनसमेत बरामद गरेको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको लागुऔषध नियन्त्रण ब्युरोले जनाएको छ ।