सर्लाहीको हरिपुर नगरपालिका–४, हरैयामा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ भने मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् ।
नवलपुर–मलङ्गवा सडकखण्डअन्तर्गत हरैयामा भएको दुर्घटनामा स्थानीय ६८ वर्षीय युगेश्वर सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त सूचना अधिकारी एवं प्रहरी निरीक्षक किशोर केसीका अनुसार मलङ्गवाबाट हरिपुरतर्फ आउँदै गरेको बीआर ०६ सिएल १४७१ नम्बरको मोटरसाइकलले पैदलयात्री सिंहलाई ठक्कर दिएको थियो ।
पैदलयात्रीलाई ठक्कर दिएपछि अनियन्त्रित भएर मोटरसाइकल पल्टिँदा चालक चन्द्रनगर गाउँपालिका–१, किसनपुरका २२ वर्षीय पुरुषोत्तम राय यादव गम्भीर घाइते भएका छन् । उनको हरिपुरस्थित सिटी अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक केसीले जानकारी दिए ।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा मोटरसाइकल तीव्र गतिमा रहेका कारण दुर्घटना भएको देखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।