पर्साको सखुवा प्रसौनी गाउँपालिका–५ महुवनस्थित गण्डक नहर नजिक सोमबार राति जन्ती जाँदै गरेको कार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
बहुदरमाई नगरपालिका–८ रामनगरी निवासी साहेब सहनीको घरबाट सखुवा प्रसौनी गाउँपालिकाको एकडरवा गाउँतर्फ जन्ती जाँदै गरेको बीआर ०६४५ नम्बरको कार अनियन्त्रित भई राति करिब ९:१५ बजेतिर गण्डक नहर छेउको पिपलको रुखमा ठोक्किँदा दुर्घटना भएको हो ।
दुर्घटनामा कार चालक र अर्का एक व्यक्ति गम्भीर घाइते भएका छन् । दुवै जनालाई तत्काल उपचारका लागि बाराको नौतनस्थित एलएस न्युरो अस्पताल लगिएको थियो । उपचारकै क्रममा चालककाे मृत्यु भएको पर्साका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिएका छन् ।
मृतक चालकको नाम र ठेगाना हालसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका अर्का व्यक्तिको एलएस न्युरो अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।