केपी शर्मा ओली ले निर्वाचन परिणाम अपेक्षाअनुसार नआए पनि लोकतान्त्रिक मूल्य मान्यतालाई सम्मान गर्दै जनताकै बीचमा रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष समेत रहेका ओलीले बिहीवार सामाजिक सञ्जाल Facebook मार्फत मतदातालाई धन्यवाद दिँदै जनताप्रतिको सेवाभाव निरन्तर रहने बताएका हुन् ।
उनले लोकतन्त्रमा जनताको मत नै अन्तिम फैसला हुने उल्लेख गर्दै उक्त निर्णयलाई सम्मानपूर्वक स्वीकार गर्नु आफ्नो र पार्टीको कर्तव्य भएको बताएका छन् । सन्देशमा उनले भनेका छन्,
“यस पटकको निर्वाचनमा मैले अपेक्षा गरेजस्तो परिणाम प्राप्त गर्न सकिनँ । हाम्रो पार्टीले पनि अपेक्षित परिणाम ल्याउन सकेन। लोकतन्त्रमा अन्तिम फैसला जनताकै हुन्छ, र त्यो फैसला शिरोधार्य गर्नु म र मेरो पार्टीको कर्तव्य हो। जनताको मतलाई म पूर्ण सम्मानका साथ स्वीकार गर्दछु ।”
अध्यक्ष ओलीले सूर्य चिन्हमा मतदान गरी सहयोग गर्ने सम्पूर्ण मतदाताप्रति आभार व्यक्त गरेका छन्। उनले नेता, कार्यकर्ता, स्वयंसेवक, शुभेच्छुक तथा समर्थकहरूलाई धन्यवाद दिँदै जनविश्वास नै पार्टीको मुख्य शक्ति भएको बताएका छन् ।
त्यस्तै, उनले निर्वाचन परिणाम आफ्नो पक्षमा नआए पनि जनताप्रतिको प्रतिबद्धता कुनै हालतमा कमजोर नहुने स्पष्ट पारे ।
“हामी जनताकै बीचमा रहनेछौँ, जनताकै लागि काम गरिरहनेछौँ, र विश्वासको यो सम्बन्धलाई अझ बलियो बनाउँदै अघि बढ्नेछौँ,” उनले उल्लेख गरेका छन् ।