जिल्ला प्रहरी कार्यालय पर्साले विभिन्न मुद्दामा अदालतबाट सजाय तोकिएर फरार रहेका ४७ जना प्रतिवादीलाई फागुन महिनाभरि पक्राउ गरेको छ।
यो अभियान फैसला कार्यान्वयन अभियानअन्तर्गत एक महिनाभरि निरन्तर सञ्चालन गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ।प्रहरीका अनुसार, पक्राउ परेकाहरुले विभिन्न मुद्दामा अदालतबाट तोकिएको कुल १२ वर्ष ३ महिनाको कैद भुक्तान गर्न बाँकी रहेको छ। साथै उनीहरूबाट ३ लाख ४८ हजार ४ सय ५५ रुपैयाँ जरिवाना असुल हुन बाँकी छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी राजु कार्कीले भने, “हामी अदालतबाट सजाय तोकिएर फरार रहेका प्रतिवादीको खोजी र पक्राउ अभियानलाई प्राथमिकतामा राखेर निरन्तरता दिइरहेका छौं। यस अभियानलाई अझ प्रभावकारी बनाउने प्रयास भइरहेको छ।”
पक्राउ परेका फरार प्रतिवादीहरुलाई आवश्यक कानूनी प्रक्रिया पूरा गरी सम्बन्धित कारागारमा पठाइ कैद र जरिवाना असुलीका लागि तयार पारिएको प्रहरीले जनाएको छ।