मधेस प्रदेशमा पर्यटन प्रवर्द्धन र ऐतिहासिक तथा सांस्कृतिक सम्भावनाको उजागर गर्ने उद्देश्यका साथ बिहीबारदेखि चार दिने ‘कल्चर एण्ड हेरिटेज टुर’ तालिम सुरु भएको छ ।
तालिम सिमरास्थित होटल श्रेष्ठ रेसिडेन्सीमा आयोजना गरिएको छ र चैत ८ गतेसम्म सञ्चालन हुनेछ । नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाटा) र दिगो पर्यटन परियोजनाको सहकार्यमा नाटा मधेस प्रदेशद्वारा आयोजित तालिममा होटल तथा पर्यटन व्यवसायमा आवद्ध सहभागिता रहेको छ ।
तालिमको मुख्य विषय मधेस प्रदेशमा पर्यटक कसरी भित्राउने र सांस्कृतिक सम्पदाको बजारीकरण कसरी गर्ने भन्ने रहेको छ । तालिममा प्रोफेसर डा. पशुपति न्यौपाने र गुठी संस्थाका राजेन्द्र दाहालले प्रशिक्षण दिनेछन् । तालिम उद्घाटन समारोह नाटा मधेस प्रदेशका अध्यक्ष मोहन शर्मा लामिछानेको अध्यक्षतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । वक्ताहरूले मधेस प्रदेशमा पर्यटनको प्रचुर सम्भावना भए पनि त्यसको सही प्रचार र व्यवस्थापन हुन नसकेको र यस्ता तालिमले दक्ष जनशक्ति उत्पादन गरी पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए ।
उद्घाटन सत्रमा नाटा मधेस प्रदेशका संस्थापक सल्लाहकार युवराज लामा, ईलाका प्रशासन कार्यालय सिमराका प्रमुख राजेन्द्रप्रसाद कंडेल, पर्सा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत सन्तोष भगतले मधेसको पर्यटन विकासका चुनौती र समाधानका उपायबारे चर्चा गरे ।
त्यसैगरी, पर्यटन व्यवसायी यज्ञमुर्ती आचार्य, होटल तथा पर्यटन व्यवसायी संघ बाराका अध्यक्ष शम्भु खड्गी, जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका महासचिव प्रकाश गिरी, पूर्वअध्यक्ष सञ्जय साह, र होटल तथा पर्यटन सहकारी संस्थाका अध्यक्ष प्रलाद उप्रेतीले निजी र सरकारी क्षेत्रबीच सहकार्य आवश्यक रहेकोमा जोड दिए ।
तालिम चार दिनसम्म चल्नेछ र सहभागीहरूलाई मधेसको संस्कृति, सम्पदा र पर्यटकलाई दिइने सेवाको गुणस्तरका बारेमा व्यवहारिक ज्ञान प्रदान गर्ने लक्ष्य राखिएको नाटाका सदस्य सदाम हुसेन अंसारीले जानकारी दिए ।
उद्घाटन समारोहको सहजीकरण सुदर्शन काफ्लेले गरेका थिए ।