नेपाल राष्ट्र बैंक, वीरगंज शाखाको आयोजनामा “ग्लोबल मनी वीक २०२६ २०२६ (GMW 2026)” को अवसरमा प्रभातफेरी कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।
“Smart Money Talk, Open Up, Start to Talk, Grow with Financial Knowledge” भन्ने नारासहित आयोजित यस कार्यक्रमले वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्य राखेको थियो ।
प्रभातफेरी नेपाल राष्ट्र बैंक वीरगंज शाखाबाट सुरु भई मकालु चौक हुँदै शहरका विभिन्न मुख्य मार्गहरूको परिक्रमा गर्दै घण्टाघरमा पुगेर समापन गरिएको थियो । कार्यक्रममा विभिन्न विकास बैंक, फाइनान्स कम्पनी तथा वाणिज्य बैंकका कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
सहभागीहरूले हातमा ब्यानर र प्लेकार्ड बोकेर वित्तीय ज्ञानको महत्वबारे जनचेतना फैलाउने सन्देश दिइरहेका थिए । आयोजकले कार्यक्रमको उद्देश्य बचतको बानी विकास, सुरक्षित लगानी, डिजिटल बैंकिङको प्रयोग र जिम्मेवार वित्तीय व्यवहार अपनाउन सर्वसाधारणलाई प्रेरित गर्नु रहेको जनाएको छ ।
नेपाल राष्ट्र बैंक वीरगंज शाखाका शाखा प्रमुख सुशील पौडेलको नेतृत्वमा सम्पन्न उक्त प्रभातफेरीले वित्तीय साक्षरता विस्तारमा सकारात्मक योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ ।
साथै, यस्ता कार्यक्रमहरूले समुदायमा आर्थिक चेतना अभिवृद्धि गर्दै दीगो आर्थिक विकासमा टेवा पुर्याउने अपेक्षा गरिएको छ ।