बारा जिल्लाको सिम्रौनगढ क्षेत्रका आलु किसानहरू बजार अभावका कारण गम्भीर सङ्कटमा परेका छन् ।
उत्पादन भएको आलुको उचित मूल्य नपाउँदा किसानहरूले लागतसमेत उठाउन नसकेको गुनासो गरेका छन् । सिम्रौनगढ बजार, खजानी, अमृतगंज, जानकीनगर, झवानी, कमलपुर, पर्सा, सतुवाही, अमरपुर, हरिहरपुर, सलेमपुर, देवापुर टेटा, गङ्गानगर, कोतवाली इँटवाल, नैका टोला लगायत पचरौता क्षेत्रका कृषकहरूले करिब १५ सय बिघा क्षेत्रफलमा लगाएको आलुबाट अपेक्षित आम्दानी गर्न सकेका छैनन् ।
किसानहरूका अनुसार प्रतिक्विन्टल २५ सयदेखि ३६ सय रुपैयाँसम्ममा बीउ खरिद गरिएको थियो । मल, विषादी, सिँचाइ तथा अन्य कृषि सामग्रीमा भएको थप खर्च जोड्दा कम्तीमा प्रतिक्विन्टल दुई हजार रुपैयाँमा बिक्री भए मात्र नाफा हुने अवस्था थियो । तर हाल बजारमा आलुको मूल्य घटेर प्रतिक्विन्टल ९०० देखि १२०० रुपैयाँसम्ममा सीमित भएको छ ।
मूल्यमा आएको गिरावटका कारण किसानहरूलाई ठूलो आर्थिक क्षति पुगेको छ । उत्पादन लागतसमेत उठ्न नसक्दा धेरै किसान ऋणको भारमा पर्ने अवस्था आएको बताइएको छ । यता चैते धान लगाउन खेत खाली गर्नुपर्ने दबाबका कारण किसानहरूले दैनिक २०० देखि ४०० रुपैयाँ ज्यालामा खेत सफाइ गराइरहेका छन्।
उक्त खर्चसमेत आलु बिक्रीबाट उठ्न नसक्दा किसानहरूको चिन्ता झन् बढेको छ ।
किसानहरूले भारतबाट हुने आलु आयात, स्थानीय बजारमा व्यापारीहरूको अभाव तथा अन्य जिल्लामा निकासी हुन नसक्नु मुख्य समस्या रहेको बताएका छन् । यसैबीच कोल्ड स्टोरेजहरू भरिएका कारण धेरै किसानले आलु घरमै भण्डारण गर्न बाध्य भएका छन् । उचित भण्डारणको अभावमा आलु कुहिने जोखिम बढेको छ । केही किसानले भने भविष्यमा मूल्य बढ्ने आशामा घरमै आलु सञ्चित गरेर राखेका छन् ।
उक्त क्षेत्रमा लालका, लाल गुलाब, शिव चालीस र कपुरी जातका आलु उत्पादन गरिएको कृषकहरूले बताएका छन् ।