जीवन र जगतको अस्तित्व रक्षा गर्ने प्रकृतिप्रदत्त अमूल्य स्रोत पानीको महत्त्व, संरक्षण र दिगो प्रयोगबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आज विश्वभर विश्व पानी दिवस मनाइँदैछ ।
संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् १९९३ देखि हरेक वर्ष मार्च २२ तारिखका दिन यो दिवस मनाउने परम्परा रहेको छ । नेपालमा यस वर्ष “लैङ्गिक समानताका लागि पानीको महत्त्वपूर्ण भूमिका” भन्ने सन्देशका साथ विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी दिवस मनाइँदैछ ।
सुरक्षित र स्वच्छ पानी व्यवस्थापनका लागि आवश्यक रणनीतिसहित प्रभावकारी कदम चाल्न र पानीको महत्त्वबारे सर्वसाधारणमा चेतना फैलाउन यस दिवसले महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ ।
बढ्दो शहरीकरण, तीव्र औद्योगीकरण, जलवायु परिवर्तन, मौसमीय असन्तुलन तथा पानीको अत्यधिक उपयोगजस्ता कारणले विश्वभर पानीको संकट गहिरिँदै गएको छ । पृथ्वीमा उपलब्ध कुल पानीमध्ये करिब ९७ दशमलव ५ प्रतिशत पानी समुद्रमा रहेको छ, जुन नूनिलो भएकाले पिउन, सिँचाइ तथा विद्युत् उत्पादनका लागि प्रयोगयोग्य छैन ।
त्यस्तै, विश्वभर उपलब्ध पानीमध्ये करिब २ दशमलव ५ प्रतिशत मात्र पिउनयोग्य पानी रहेको छ । मूल, खोला, नदी तथा हिमनदीबाट प्राप्त हुने पानी मानव उपयोगका लागि उपयुक्त मानिन्छ। पृथ्वीका उत्तरी तथा दक्षिणी ध्रुवमा पाइने बरफयुक्त पानी पनि मानव उपभोगका लागि उपयोगी स्रोतका रूपमा रहेको छ ।
मानवीय अतिक्रमणका कारण नदी तथा जलस्रोतहरू संकटमा पर्दै गएका छन् । अनियमित रूपमा भूमिगत पानीको दोहन, पानी पुनर्भरण (रिचार्ज) मा ध्यान नदिनु तथा वर्षात्को पानी व्यवस्थापन गर्न नसक्नुजस्ता कारणले भविष्यमा पानीको अभाव झन् जटिल बन्दै जाने विज्ञहरू बताउँछन् ।
यसै अवसरमा रामचन्द्र पौडेलले पानीको संरक्षण, दिगो उपयोग तथा सबै नागरिकमा समान पहुँच सुनिश्चित गर्न सरकारी निकाय, विकास साझेदार, विभिन्न सङ्घसंस्था र आम नागरिकबीच आपसी सहकार्य, समन्वय र प्रतिबद्धता आवश्यक रहेको उल्लेख गर्नुभएको छ । उहाँले पानी स्रोतको दिगो व्यवस्थापनमार्फत भावी पुस्ताको भविष्य सुरक्षित गर्न सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिनुभएको छ ।