आइतबार ‘नहाय–खाय’ विधिबाट सुरु भएको यस महापर्वमा आज मुख्य तयारीको दिन मानिन्छ। यस दिन व्रतालुहरू दिनभर निराहार व्रत बसी साँझपख माटोको नयाँ चुलोमा आँपको दाउरा र गोइठा बालेर चामल तथा सख्खरको खीर पकाउने गर्दछन् ।
तयार गरिएको प्रसाद र फलफूल छठी माईलाई अर्पण गरेपछि मात्र व्रतालुहरूले प्रसाद ग्रहण गर्ने परम्परा रहेको छ, जसलाई ‘खरना’ भनिन्छ। खरना सम्पन्न भएसँगै व्रतालुहरूको ३६ घण्टा लामो कठिन निर्जला व्रत सुरु हुन्छ ।
मंगलबार साँझ व्रतालुहरू नदी, पोखरी तथा विभिन्न जलाशयमा पुगेर कम्मरसम्म पानीमा डुबेर अस्ताउँदो सूर्यलाई अर्घ्य दिनेछन्। त्यसका लागि तराई–मधेसका नदी, पोखरी तथा जलाशयका घाटहरूलाई आकर्षक रूपमा सजाइएको छ ।
यो पर्वको समापन बुधबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि हुनेछ। वर्षमा दुई पटक कात्तिक र चैत महिनामा मनाइने छठ पर्वले शुद्धता, अहिंसा तथा प्रकृति पूजाको अनुपम सन्देश प्रवाह गर्दछ ।
विशेषगरी मधेस प्रदेश मा यो पर्व विशेष उत्साह, सांस्कृतिक महत्व र परम्परागत आस्थाका साथ मनाइन्छ ।