आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गर्दै लोकआस्थाको महान् पर्व चैती छठ श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ । गत आइतबार ‘नहाय–खाय’ विधिबाट सुरु भएको चारदिने यस धार्मिक अनुष्ठानको आज मुख्य दिन अर्थात् षष्ठी तिथि हो ।
आज व्रतालुहरू नदी, तलाउ तथा अन्य जलाशयमा पुगेर ठेकुवा, भुसुवा, खजुरिया तथा विभिन्न फलफूलसहित अस्ताउँदो सूर्यको आराधना गर्दै अर्घ अर्पण गर्नेछन् ।
पारिवारिक सुख, शान्ति तथा समृद्धिको कामनासहित मनाइने यस पर्वमा अस्ताउँदो र उदाउँदो दुवै सूर्यलाई पूजा गर्ने अनुपम परम्परा रहेको छ । धार्मिक मान्यताअनुसार महाभारत कालमा द्रौपदी तथा पाण्डवहरूले सूर्यदेवको उपासना गरेको प्रसङ्गसँग यो पर्व जोडिएको विश्वास गरिन्छ ।
पछिल्ला वर्षहरूमा यो पर्व तराई–मधेस प्रदेश का जिल्लासँगै काठमाडौँ, पोखरा र धरान जस्ता प्रमुख सहरहरूमा पनि बढ्दो उत्साहका साथ मनाउन थालिएको छ ।
भोलि बुधबार बिहान उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेपछि चैती छठ पर्व विधिवत् रूपमा समापन हुनेछ ।