नवनिर्वाचित प्रतिनिधिसभा सदस्य महावीर पुन ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई भ्रष्टाचार नियन्त्रणको मुद्दामा कडा चेतावनी दिएका छन् । उनले रास्वपाले प्रभावकारी रूपमा भ्रष्टाचार नियन्त्रण गर्न नसके कालान्तरमा पार्टी इतिहासमा सीमित हुन सक्ने टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पुनले आगामी सरकारले कार्यभार सम्हालेको पहिलो दिनदेखि नै भ्रष्टाचारीहरू विरुद्ध आक्रामक रूपमा प्रस्तुत हुनुपर्ने बताएका छन् । उनले भनेका छन्, “रास्वपाको नेतृत्वमा बन्ने वा सहभागी हुने सरकारले कानुनी प्रक्रिया पूरा गरेर भ्रष्टाचारीहरूलाई कहिल्यै उठ्न नसक्ने गरी कारबाहीको दायरामा ल्याउनुपर्छ ।”
पुनले विद्यमान ऐन–नियमहरू भ्रष्टाचार नियन्त्रणमा बाधक देखिए तत्काल नयाँ कानुनी व्यवस्था बनाएर भए पनि सुशासन कायम गर्नुपर्ने सुझाव दिएका छन् । उनका अनुसार सुशासन कायम गर्न नसके जनताले ठूलो धोका महसुस गर्ने र त्यसले रास्वपाको राजनीतिक भविष्य नै समाप्त पार्न सक्छ ।
उनले सरकार गठनपछि तीन महिनाभित्रै आम नागरिकले सुशासनको प्रत्यक्ष अनुभूति गर्न पाउनुपर्ने सर्त पनि अघि सारेका छन् । साथै, देशबाट भ्रष्टाचार र कुशासन अन्त्य गर्ने अभियानमा आफूले पूर्ण सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।