नेपालको राजनीतिक इतिहासमा नयाँ अध्याय थपिँदै आगामी चैत १३ गते मुलुकले नयाँ प्रधानमन्त्री पाउने भएको छ । हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा ऐतिहासिक सफलता हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले सो दिन प्रधानमन्त्री पदको शपथ लिने कार्यक्रम तय भएको छ ।
नवनियुक्त प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहण समारोहलाई विशेष, सांस्कृतिक तथा भव्य रूपमा सम्पन्न गर्ने तयारी गरिएको छ । तय कार्यक्रमअनुसार मध्याह्न १२ः३४ बजे हुने शपथ ग्रहण समारोहमा सात वटा शंख फुकेर शंखनाद गरिनेछ । साथै, १०८ जना बटुकहरूद्वारा स्वस्ती शान्ति वाचन गरी मङ्गल धुन गुञ्जायमान बनाइनेछ । त्यसैगरी, १६ जना बौद्ध भिक्षुहरूले अष्टमंगल पाठ गर्दै मुलुकको सुख, शान्ति र समृद्धिको कामना गर्ने कार्यक्रम रहेको छ ।
शपथ ग्रहण समारोह सम्पन्न भएपछि नवनियुक्त प्रधानमन्त्री बालेनले सोही दिन दिउँसो २ः१५ बजे सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेर पदबहाली गर्ने कार्यतालिका रहेको छ ।
युवा पुस्ताको आशाका रूपमा चिनिएका प्रधानमन्त्री बालेनको सत्तारोहणलाई लिएर आम नागरिकमा उत्साह, जिज्ञासा र उच्च अपेक्षा देखिएको छ।