नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको पद तथा गोपनीयताको शपथ आज अपराह्न २ बजे सिंहदरबारस्थित नवनिर्मित बहुउद्देश्यीय हलमा हुँदैछ ।
प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसी ले नवनिर्वाचित सांसदहरूलाई शपथ गराउने कार्यक्रम रहेको छ । उनलाई यसअघि नै राष्ट्रपति रामचन्द्र पौडेल ले शपथ गराइसकेका छन् ।
सङ्घीय संसद् सचिवालयका अनुसार शपथ ग्रहण कार्यक्रममा ४७ जना सांसदहरूले नेपालीबाहेक आफ्ना मातृभाषामा शपथ लिने तयारी गरेका छन्, जसमा १७ जनाले मैथिली भाषा प्रयोग गर्नेछन् ।
गत फागुन २१ गते सम्पन्न निर्वाचनबाट निर्वाचित विभिन्न दलका प्रतिनिधिहरू कार्यक्रममा सहभागी हुनेछन्। सचिवालयले सांसदहरूलाई औपचारिक वा सांस्कृतिक पोसाकमा उपस्थित हुन तथा आवश्यक कागजातसहित निर्धारित समयभन्दा दुई घण्टा अगावै कार्यक्रममा पुग्न आग्रह गरेको छ ।