राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह प्रतिनिधिसभा सदस्यको शपथ ग्रहण समारोहमा विशेष सांस्कृतिक पहिरनसहित उपस्थित भएका छन् ।
किरात समुदायसँग जोडिएको परम्परागत ‘सिलाम साक्मा’ लगाएर समारोहमा सहभागी हुँदा उनको पहिरनले विशेष ध्यान आकर्षित गरेको हो । सामान्य पोशाकभन्दा फरक यो पहिरनले बाह्य सौन्दर्यसँगै गहिरो सांस्कृतिक अर्थ बोकेको हुन्छ ।
किराती संस्कृतिमा ‘सिलाम साक्मा’लाई शुभ संकेतका रूपमा लिइन्छ । यसलाई मृत्यु वा अपशकुनको बाटो छेक्ने पवित्र चिन्ह मानिन्छ। यही कारणले यस्तो पहिरन विशेष अवसर तथा धार्मिक–सांस्कृतिक सन्दर्भमा प्रयोग गरिन्छ ।
शपथ समारोहमा बालेनको छातीमा सजिएको सिलाम साक्माले उनको व्यक्तित्वलाई अझ अर्थपूर्ण बनाएको देखिएको छ । परम्परागत पहिरनलाई आधुनिक सार्वजनिक मञ्चमा प्रस्तुत गर्नुले विविधता, पहिचान र समावेशिताप्रतिको सम्मानको सन्देश दिएको रूपमा विश्लेषण गरिएको छ ।
उनको यो उपस्थितिले नेपाली राजनीति र सार्वजनिक जीवनमा सांस्कृतिक पहिचानको सम्मान गर्दै एकता र विविधताको सुन्दर अभिव्यक्ति प्रस्तुत गरेको बुझिएको छ ।
यसअघि हर्क साम्पाङ ले पनि सार्वजनिक रूपमा सिलाम साक्मा प्रयोग गरी यसलाई चर्चामा ल्याएका थिए । त्यसपछि जारी फिल्मलगायतले यसको लोकप्रियता बढाउन थप भूमिका खेलेको देखिन्छ ।
के हो सिलाम साक्मा?
लिम्बू भाषामा ‘सि’ को अर्थ मृत्यु, ‘लाम’ को अर्थ बाटो र ‘साक्मा’ को अर्थ छेक्नु हो । यसरी ‘सिलाम साक्मा’को अर्थ ‘मृत्युको बाटो छेक्ने’ हुन्छ । यो केवल पहिरन मात्र नभई लिम्बू समुदायको सांस्कृतिक पहिचान, आस्था र विश्वाससँग गहिरो रूपमा जोडिएको प्रतीक हो ।
अतिथिलाई स्वागत गर्दा, सार्वजनिक समारोह तथा विवाहजस्ता अवसरमा यसलाई छातीमा सजाएर प्रयोग गर्ने चलन छ ।
कसरी बनाइन्छ?
सिलाम साक्मा हातले बुनिने चारकुने कपडा हो, जसको छेउमा फुर्को बनाइएको हुन्छ । यसलाई बाँसको कप्टेरोमा विभिन्न रङका धागो प्रयोग गरी आकर्षक ढंगले तयार गरिन्छ । धार्मिक विश्वासअनुसार दैविक शक्तिलाई खुसी पार्दै सुख, शान्ति र सद्भावको कामना गर्दै यसलाई तङ्सिने गरिन्छ ।