नेपाली कांग्रेसले गौरीबहादुर कार्की संयोजकत्वको जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण रहेको टिप्पणी गरेको छ ।
सानेपामा बिहीबार आयोजित पत्रकार सम्मेलनमा कांग्रेसले प्रतिवेदन अधुरो भएको बताएका हुन् । कांग्रेस प्रवक्ता देवराज चालिसेले भने, “प्रथम दृष्टिमा यो अपूर्ण देखिएको छ । अलि अधुरो देखियो । यसले पूर्णता बोकेको छैन।”
उनले २३ भदौको आन्दोलनबारे प्रकाश पार्ने कोसिस भए पनि २४ भदौको घटनालाई आयोगले अलपत्र छोडेजस्तो देखिएको पनि बताए । चालिसेले थपे, “प्रथम दृष्टिको कुरा हो यो। यद्यपि, त्यसलाई हामीले राम्रोसँग अध्ययन गर्न बाँकी छ । प्रतिवेदनलाई हामी सिरियसली हेर्छौं ।”
प्रतिवेदनको गहिरो अध्ययनका लागि कांग्रेसले कानुन विज्ञ, शासन सत्तामा अनुभव भएका व्यक्ति, जेनजी आन्दोलनमा सहभागी युवा अभियन्ता र विज्ञहरूलाई समावेश गरेर समिति गठन गर्ने निर्णय गरेको छ ।
समितिले कार्की आयोगसहित राष्ट्रिय मानवअधिकार आयोगले सरकारलाई बुझाएका प्रतिवेदनहरू गहनतापूर्वक अध्ययन गरेपछि कांग्रेसले आफ्नो दृष्टिकोण सार्वजनिक गर्ने बताइएको छ ।