चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज देशभर भगवान् श्री रामचन्द्र को पूजा–आराधना गरी मनाइँदैछ । त्रेतायुगमा अयोध्या का राजा दशरथ र महारानी कौसल्यादेवीका सुपुत्रका रूपमा आजकै दिन विष्णुको सातौँ अवतारका रूपमा श्रीरामको जन्म भएको धार्मिक विश्वास छ ।
भगवान् रामले राक्षसी प्रवृत्तिको अन्त्य गर्दै लोककल्याणकारी रामराज्य स्थापना गरेको मानिन्छ । धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईका अनुसार रामनवमी मनाउनुको मुख्य उद्देश्य रामजस्तै मर्यादित, अनुशासित र संयमित जीवन अपनाउने प्रेरणा प्राप्त गर्नु हो । रामलाई ‘मर्यादा पुरुषोत्तम’ का रूपमा सम्मान गरिन्छ ।
शास्त्रीय मान्यताअनुसार आजका दिन व्रत बसी रामचन्द्रको पूजा, जप र ध्यान गर्नाले मनोकामना पूरा हुने तथा श्रीप्राप्ति हुने विश्वास छ । चैत्र शुक्ल अष्टमीमा अष्ट मातृकाको पूजा र नवमीमा रामको आराधना गर्ने परम्परा रहँदै आएको छ ।
यस अवसरमा जनकपुर र अयोध्यालगायत स्थानमा विशेष रामलीला प्रदर्शन गरिन्छ । परापूर्वकालमा वासन्तीय नवरात्र (चैते दसैँ) लाई मुख्य दसैँ मानिने भए पनि गर्मीका कारण पछि असोजमा ठूलो दसैँ मनाउने परम्परा सुरु भएको धार्मिक मत छ । चैत र असोजका नवरात्रलाई ‘जाग्रत दसैँ’ मानिन्छ ।
यस विशेष अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ ।