देशले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा अभूतपूर्व जनमत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले आज मुलुकको कार्यकारी प्रमुखका रूपमा जिम्मेवारी सम्हाल्दै छन् ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो आयोजना हुने विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल ले शाहलाई प्रधानमन्त्री पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम तय भएको छ ।
पार्टीले बिहीबार मात्रै शाहलाई सर्वसम्मत रूपमा संसदीय दलको नेता चयन गरेपछि उनको प्रधानमन्त्री बन्ने मार्ग प्रशस्त भएको हो। नेपालको संविधानको धारा ७६ को उपधारा (१) बमोजिम झण्डै दुई दशकपछि मुलुकले एकल बहुमतको सरकार पाउने भएको छ ।
कुल २७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपाले १८२ सिटमा सानदार जित हासिल गर्दै स्पष्ट बहुमत प्राप्त गरेको छ । झापा क्षेत्र नम्बर ५ बाट भारी मतान्तरले विजयी भएका शाहले ६८ हजार ३४८ मत प्राप्त गरेका थिए ।
आजको शपथ ग्रहण समारोहमा नवनियुक्त प्रधानमन्त्रीसँगै मन्त्रिपरिषद्ले पनि शपथ लिने बुझिएको छ। शीतल निवासका अनुसार समारोहमा सहभागी हुन विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू, कूटनीतिक नियोगका प्रतिनिधिहरू, उच्च पदस्थ सरकारी अधिकारी तथा नागरिक समाजका प्रतिष्ठित व्यक्तित्वहरूलाई निम्तो पठाइसकिएको छ ।
बिहीबार प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसी बाट शपथ लिएका नवनिर्वाचित सांसदहरूको उत्साह र नयाँ सरकारप्रतिको जनअपेक्षाका बीच यो समारोहलाई निकै महत्वका साथ हेरिएको छ ।
नेपालको राजनीतिमा युवा लहरको नेतृत्व गर्दै आएका बालेन्द्र शाहले आज दिउँसो १२:३४ बजे प्रधानमन्त्रीको शपथ लिने साइत जुरेको छ ।
भ्रष्टाचारविरुद्धको अभियान र सुशासनलाई मुख्य एजेन्डा बनाएको रास्वपाको नेतृत्वमा बन्ने सरकारले मुलुकमा आर्थिक समृद्धि र प्रशासनिक सुधार ल्याउने विश्वास नागरिकहरूमा रहेको छ ।