आज चैत्र शुक्ल नवमीका दिन भगवान् राम को पूजा–आराधना गरी देशभर रामनवमी पर्व श्रद्धापूर्वक मनाइँदै छ ।
त्रेतायुगमा राम को जन्म अयोध्याका राजा दशरथ र महारानी कौसल्या देवीको सुपुत्रका रूपमा आजकै तिथिमा भएको धार्मिक विश्वास छ । विष्णुको सातौँ अवतार मानिने रामको कुण्डलीमा सूर्य, मङ्गल, गुरु, शुक्र र शनि गरी पाँच ग्रह एकैसाथ रहेको दुर्लभ योग परेको जनविश्वास रहेको छ ।
वर्षका चार नवरात्रमध्ये वासन्तीय नवरात्रको नवमीका दिन जन्मनुभएका रामले राक्षसी प्रवृत्तिको अन्त्य गरी आदर्श ‘रामराज्य’ स्थापना गर्नुभएको धार्मिक मान्यता छ ।
पिता दशरथ को कठोर आज्ञालाई सहज रूपमा स्वीकार गर्दै सत्य, धर्म र मर्यादाको मार्गमा अघि बढ्न मानव जातिलाई प्रेरणा दिनुभएकाले उहाँको सम्झनामा रामनवमी पर्व मनाउने परम्परा रहेको धार्मिक ग्रन्थहरूमा उल्लेख छ ।
यस अवसरमा नेपालका जनकपुर तथा भारतको अयोध्या लगायत स्थानमा विशेष पूजाआजा तथा रामलीला प्रदर्शन गरिन्छ
।