नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा चारवटा संघर्ष कार्यक्रम घोषणा गरेको छ ।
शनिबार बिहान पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले आम जनसमुदाय र नागरिक समाजलाई साथ लिएर कानुनी तथा राजनीतिक रूपमा सशक्त प्रतिवाद गर्ने निर्णय गरेको हो ।
पार्टी सचिव महेश बस्नेत का अनुसार आजै (शनिबार) अपराह्न ३ बजे देशभरका जिल्ला सदरमुकामहरूमा जनसंगठनहरूको तर्फबाट विरोध प्रदर्शन गरिनेछ ।
त्यस्तै, आइतबार (चैत्र १५ गते) दिउँसो १२ बजे प्रत्येक जिल्लामा जिल्ला पार्टी कमिटीको आयोजनामा व्यापक प्रदर्शन गर्दै प्रमुख जिल्ला अधिकारीको कार्यालयमा विरोधपत्र बुझाइने कार्यक्रम तय गरिएको छ ।
चौथो कार्यक्रमअन्तर्गत लोकतन्त्र र कानुनी राज्यका पक्षधर अन्य दलहरूसँग संवाद र सहकार्य गर्ने, साथै नागरिक समाज र आम जनसमुदायसँग पनि सहकार्य अघि बढाउने निर्णय गरिएको छ ।
भदौ २३ गते भएको जेन–जी आन्दोलनका क्रममा हेलचेक्र्याइँपूर्वक ज्यान मारेको अभियोगमा पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीलाई शनिबार बिहान निवासबाट पक्राउ गरिएको थियो । पक्राउपछि उनलाई जिल्ला प्रहरी परिसर काठमाडौं पुर्याइएको थियो ।
स्वास्थ्य परीक्षणका लागि उनलाई हाल त्रिवि शिक्षण अस्पताल लगिएको छ र अस्पतालमा भर्ना गरिएको स्रोतले जनाएको छ ।
यसअघि शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।