नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग गरेको छ ।
आज बसेको एमाले सचिवालयको आकस्मिक बैठकले सर्वोच्च अदालत का बहालवाला न्यायाधीशको नेतृत्वमा उच्चस्तरीय छानबिन आयोग गठन गर्न सरकारसँग माग गरेको हो ।
यसअघि अन्तरिम चुनावी सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्की को नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको थियो । सो आयोगको प्रतिवेदनका आधारमा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक आज पक्राउ परेका छन् ।
अध्यक्ष ओली पक्राउ परेपछि उपाध्यक्ष रामबहादुर थापा बादल को अध्यक्षतामा एमाले सचिवालय बैठक बसेको थियो ।
बैठकपछि महासचिव शंकर पोखरेल ले कार्की आयोगको छानबिन निष्पक्ष नरहेको निष्कर्ष पार्टीले निकालेको जानकारी दिए ।
उनले भने, “उक्त घटनाको निष्पक्ष र न्यायिक छानबिनका लागि सर्वोच्च अदालतका बहालवाला न्यायाधीशको अध्यक्षतामा उच्चस्तरीय छानबिन आयोग गठन गर्न माग गर्दछौँ ।”
त्यस्तै, एमालेले अध्यक्ष ओली र कांग्रेस नेता लेखकको गिरफ्तारीलाई ‘गैरकानुनी’ ठहर गर्दै त्यसविरुद्ध कानुनी र राजनीतिक रूपमा प्रतिवाद गर्ने निर्णय गरेको जनाएको छ ।