पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक लाई हेलचेक्र्याइँपूर्वक ज्यान मारेको अभियोगमा शनिबार बिहान पक्राउ गरिएपछि श्रम संस्कृति पार्टी का अध्यक्ष हर्क सम्पाङ ले यस घटनालाई राजनीतिक प्रतिशोधसँग जोडेका छन् ।
सामाजिक सञ्जाल Facebook मा स्ट्याटस लेख्दै उनले जसले चुनाव जिते पनि देशमा प्रतिशोधको राजनीति हुने आफ्नो भनाइ अहिले सत्य सावित भएको बताएका छन् ।
उनले लेखेका छन्,
“मेरो कुरा ढिलागरी बुझ्छन्। मैले ओखल्ढुंगाको कार्यक्रममा भनेको थिएँ — अरू जसले जिते नि प्रतिशोधको राजनीति हुन्छ। प्रगतिको राजनीति श्रम संस्कृति मात्रै हो। अब हुने भनेको आन्दोलन, आन्दोलन अनि आन्दोलन हो ।”
हर्क सम्पाङले आगामी दिनमा आन्दोलन चर्किने संकेत पनि गरेका छन् ।
भदौ २३ मा भएको जेनजी आन्दोलनका क्रममा हेलचेक्र्याइँपूर्वक ज्यान मारेको अभियोगमा एमाले अध्यक्षसमेत रहेका ओली र लेखक पक्राउ परेका हुन् ।
हाल उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौं मा राखिएको छ । अध्यक्ष ओलीलाई भने स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ ।