श्री नेपाल राष्ट्रिय नमुना माध्यमिक विद्यालय बकुलिया ले आर्थिक वर्ष २०८२/०८३ अन्तर्गत छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
विद्यालय परिसरमा आयोजित कार्यक्रममा कक्षा १ देखि ५ सम्म अध्ययनरत छात्रा तथा दलित विद्यार्थीलाई लक्षित गरी छात्रवृत्ति प्रदान गरिएको हो ।
विद्यालयका अनुसार कुल ३६६ जना विद्यार्थीलाई प्रतिविद्यार्थी रु ४०० का दरले रकम वितरण गरिएको छ । आर्थिक रूपमा कमजोर तथा लक्षित वर्गका बालबालिकाको शैक्षिक निरन्तरता कायम राख्दै अध्ययनप्रति उत्साह बढाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको जनाइएको छ ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य राजेन्द्र प्रसाद चौधरी प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो भने बृजमोहन चौधरी अतिथिका रूपमा सहभागी हुनुभयो । विद्यालयका प्रधानाध्यापक धनञ्जय गौतम ले कार्यक्रम सञ्चालन गर्दै विद्यार्थीलाई नियमित अध्ययनमा ध्यान दिन आग्रह गर्नुभयो। उहाँले यस्ता सहयोगले विद्यार्थीको पढाइप्रति रुचि र प्रेरणा अझ बढ्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा विद्यार्थी, अभिभावक तथा शिक्षकहरूको उल्लेख्य उपस्थिति रहेको थियो । सहभागीहरूले यस्ता छात्रवृत्ति कार्यक्रमले विशेषगरी विपन्न तथा दलित समुदायका बालबालिकालाई शिक्षातर्फ आकर्षित गर्न महत्वपूर्ण योगदान पुग्ने बताएका छन् ।
विद्यालय प्रशासनले आगामी दिनमा पनि छात्रवृत्ति तथा अन्य प्रोत्साहनमूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।