जेनजी आन्दोलनका क्रममा वीरगंजस्थित बाल सुधार गृहबाट फरार भएका कर्तव्य ज्यान मुद्दाका एक कैदीलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–५, कालिका मन्दिरका २२ वर्षीय परिवर्तित नाम वीरेन्द्रनगर (एल) रहेका छन् । उनलाई सोमबार बिहान साढे ९ बजे वीरगंज महानगरपालिका–४ स्थित मालपोत चोकबाट प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार विशेष सूचनाका आधारमा वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।
उनी २०८२ भदौ २४ गते जेनजी आन्दोलनका क्रममा वीरगंजस्थित बाल सुधार गृहबाट फरार भएका थिए । उनीविरुद्ध सुर्खेत जिल्ला अदालतमा अप्राकृतिक मैथुन र बाँके जिल्ला अदालतमा कर्तव्य ज्यानसम्बन्धी मुद्दा रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुवै मुद्दामा उनलाई १२ वर्ष ६ महिना कैद र २५ हजार रुपैयाँ जरिवानाको सजाय तोकिएको थियो ।
पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।