नेकपा एमाले का सचिव महेश बस्नेत ले आफ्नो पार्टीले देशभर आन्दोलन अझ सशक्त बनाउँदै लैजाने चेतावनी दिएका छन् ।
प्रहरीले आफूहरूमाथि दमन गरेको आरोप लगाउँदै बस्नेतले वर्तमान अवस्था यथावत रहे भोलि देशभर आन्दोलन चर्किने बताएका हुन् ।
उनले भने,
“यही अवस्था रहेमा भोलि १२ बजे पार्टीका देशभरका जिल्ला सदरमुकामहरूमा हुने आन्दोलन अझ सशक्त र प्रतिरोधात्मक बन्नेछ। साथै, आज गरिएको प्रहरी दमनविरुद्ध भोलि पनि माइतीघर मण्डलामा जनसंगठनहरूको आन्दोलन निरन्तर रहनेछ ।”
एमालेले आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा आजैदेखि प्रदर्शन सुरु गरेको छ ।
बस्नेतले ओलीको पक्राउलाई ‘पूर्वाग्रह र प्रतिशोध’ को परिणाम भएको आरोप लगाएका छन् ।
“पूर्वाग्रह र प्रतिशोधको मूल्य अत्यन्त महँगो हुन्छ। अध्यक्ष केपी शर्मा ओलीलाई अविलम्ब रिहा गर,” उनले भने ।
उनले वर्तमान सरकार र प्रधानमन्त्री बालेन्द्र शाह प्रति लक्षित गर्दै कडा टिप्पणी समेत गरेका छन् ।
बस्नेतले थप प्रश्न उठाउँदै देशलाई अस्थिरतातर्फ धकेल्ने प्रयास भइरहेको संकेत गरेका छन् ।
“के देशलाई गृहयुद्धतर्फ धकेल्न खोजिएको हो? देशलाई पाकिस्तानी, बंगलादेश वा युक्रेन — कुन मोडेलतर्फ लैजाँदैछ?” उनले प्रश्न गरेका छन्।
त्यस्तै, उनले घाइतेहरूको उपचार र पक्राउ परेकाहरूको तत्काल रिहाइको माग गरेका छन् । साथै, विगतमा सरकारी सम्पत्तिमा तोडफोड गर्ने समूहलाई दमन भएको भन्दै अहिले शान्तिपूर्ण आन्दोलनमाथि दमन गर्नु किन आवश्यक पर्यो भन्ने प्रश्न पनि उठाएका छन् ।