सरकारले नेपालभित्र अवैध रूपमा सञ्चालित सबै अनलाइन सट्टेबाजी ( बेटिङ ) एप र वेबसाइटहरू २४ घण्टाभित्र पूर्ण रूपमा बन्द गर्न निर्देशन दिएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. विक्रम तिमिल्सिनाको अध्यक्षतामा बसेको बैठकले नेपाल दूरसञ्चार प्राधिकरणलाई उक्त निर्देशन दिएको हो । मन्त्रिपरिषद्को चैत १३ गतेको बैठकले स्वीकृत गरेको शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूचीअनुसार अवैध आर्थिक कारोबार तथा पुँजी पलायन रोक्न यो कदम चालिएको जनाइएको छ ।
मन्त्रालयको निर्देशनलगत्तै नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायक तथा मोबाइल अपरेटरहरूलाई पत्राचार गर्दै बन्द गर्ने प्रक्रिया सुरु गरिसकेको छ ।
बैठकमा मन्त्री तिमिल्सिनाले डिजिटल शासन र डेटा गभर्नेन्समा केन्द्रित हुँदै सेवा प्रवाहलाई चुस्त बनाउन तथा मन्त्रालयका कामको दैनिक रिपोर्टिङ प्रणाली विकास गर्न समेत निर्देशन दिएका छन् ।
सरकारको यस निर्णयसँगै अब नेपालमा वान एक्सबेट लगायतका सट्टेबाजी प्लेटफर्महरू प्रतिबन्धित हुनेछन् ।