वीरगंजस्थित मधेश विश्वविद्यालयका एक कर्मचारी छात्रामाथि अनैतिक दबाब सिर्जना गरेको आरोपमा पक्राउ परेका छन् ।
प्रशासन शाखामा कार्यरत राजु गद्दीलाई जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार गद्दीले एक छात्रालाई अनैतिक सम्बन्ध कायम गर्न निरन्तर दबाब दिँदै आएका थिए ।
उजुरीमा उल्लेख भएअनुसार उनले प्रस्ताव स्वीकार गरेमा परीक्षामा सहयोग गर्ने आश्वासन दिने तथा अस्वीकार गरेमा ‘मार्क्स घटाइदिने’ र अनुत्तीर्ण गराइदिने धम्की दिने गरेका थिए ।
पीडित छात्राले सुरुवातमा सहयोगको बहानामा नजिकिएका गद्दीले पछि फोन तथा सामाजिक सञ्जालमार्फत अनुपयुक्त सन्देश पठाउन थालेको आरोप लगाएकी छन् । प्रस्ताव अस्वीकार गरेपछि उनले शैक्षिक भविष्य नै समाप्त पार्ने चेतावनी दिएको पनि उजुरीमा उल्लेख छ। सोही आधारमा छात्राले चैत १४ गते प्रहरीमा उजुरी दर्ता गराएकी थिइन् ।
उजुरीपछि फरार रहेका गद्दीलाई प्रहरीले खोजी गरी पक्राउ गरेको जनाएको छ । पर्सा प्रहरीका प्रवक्ता हरिबहादुर बस्नेतले आरोपितमाथि आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको र घटनाको थप अनुसन्धान जारी रहेको जानकारी दिए ।
घटना सार्वजनिक भएसँगै विश्वविद्यालयभित्र अन्य छात्राहरू पनि यस्तै दुर्व्यवहारको सिकार भएको हुन सक्ने आशंका व्यक्त गरिएको छ । शिक्षण संस्थाभित्रै कर्मचारीबाट यस्तो गतिविधि हुनु गम्भीर विषय भएको भन्दै विद्यार्थीको सुरक्षा र शैक्षिक मर्यादामाथि प्रश्न उठेको छ ।
यसैबीच, पक्राउ परेका गद्दी मधेश प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु राउतका भतिजो रहेको बताइएको छ । उच्च पहुँच भएका व्यक्तिसँग सम्बन्धित घटनाले यस प्रकरणलाई थप चर्चामा ल्याएको छ ।