बाराको निजगढमा बुधबार दिउँसो दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।
दुर्घटनामा सर्लाहीको लालबन्दी नगरपालिका–७ का २२ वर्षीय वैभव ढुंगाना र निजगढ नगरपालिका–६ धियालटोलका २३ वर्षीय सुरेश श्रेष्ठको मृत्यु भएको हो ।
दुर्घटनापछि घाइते भएका दुवै जनालाई उपचारका लागि गण्डकस्थित एलएस न्यूरो अस्पताल र कलैयास्थित प्रादेशिक अस्पताल लगिएको थियो । तर अस्पताल पुर्याएलगत्तै चिकित्सकले दुवैलाई मृत घोषणा गरेको ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक जीवन लामिछानेले जानकारी दिए ।
प्रहरीका अनुसार सर्लाहीबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०४२ प ९८२४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको बागमती प्रदेश ०३–००४ प ३६६१ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए । ढुंगानाले ९८२४ नम्बरको र श्रेष्ठले ३६६१ नम्बरको मोटरसाइकल चलाइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि प्रहरीले दुवै मोटरसाइकल नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।