बडाखोली स्थायी घर भएकी १६ वर्षीया इनिसा विकको शव २७ दिनपछि परिवारले बुझ्ने भएका छन् । परिवारका अनुसार शव बिहीबार दिउँसो भेरी पुल नजिकको सम्झिघाटमा अन्त्येष्टि गर्ने तयारी भइरहेको छ ।
इनिसाको न्यायको माग गर्दै परिवारले शव बुझ्न मानिरहेको थिएन। उनको शव २७ दिनदेखि प्रदेश अस्पतालको शव गृहमा राखिएको थियो ।
मंगलबार जिल्ला अदालत सुर्खेतले बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका चारैजना नाबालकलाई पुर्पक्षका लागि बाल सुधारगृह पठाउन आदेश दिएको थियो । अदालतको आदेशपछि परिवारले शव बुझ्ने निर्णय गरेको हो ।
इनिसा वीरेन्द्रनगर–१ मा बस्दै आएकी थिइन् र वीरेन्द्रनगरकै उषा बालबाटिका विद्यालयमा कक्षा ११ मा अध्ययनरत थिइन् । उनी फागुन २३ गते बिहान टिउसन पढ्न जाने भन्दै घरबाट निस्किएकी थिइन् ।
सोही दिन बिहान ९ बजे वीरेन्द्रनगर–४ मा रहेको शहीद पार्क नजिकैको जङ्गलमा अचेत अवस्थामा फेला परेकी उनलाई प्रहरीले प्रदेश अस्पताल कालागाउँ पुर्याएको थियो। चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
घटनामा चार जना युवकलाई नियन्त्रणमा लिइएको थियो । प्रारम्भिक अनुसन्धानमा बलात्कारपछि हत्या भएको देखिएकोले प्रहरीले यस विषयमा अनुसन्धान अघि बढाएको थियो ।
इनिसा घटनाका दोषीलाई तत्काल कारबाही गर्न माग गर्दै देशैभर विभिन्न चरणमा प्रदर्शनसमेत भएका थिए ।