प्रतिनिधिसभाका स्वतन्त्र सांसद महावीर पुनले नेपालको शिक्षा क्षेत्रलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।
बिहीबार प्रतिनिधिसभा बैठकमा धारणा राख्दै सांसद पुनले आफू शिक्षा मन्त्री रहँदा अघि सारेका योजनाहरूलाई निरन्तरता दिन सरकारलाई आग्रह गरेका हुन् । उनले चार महिनाको कार्यकालमा शिक्षा क्षेत्रमा गहिरो रूपमा जमेका समस्या, चरम राजनीतिकरण तथा विभिन्न विकृतिहरू देखेको बताए ।
उनले विद्यालय, कलेज तथा विश्वविद्यालयहरूमा विशुद्ध शैक्षिक वातावरण कायम गर्न आफूले अधिकतम प्रयास गरेको उल्लेख गर्दै त्यस्ता सुधारका प्रयासलाई अगाडि बढाउन सरकारलाई ध्यान दिनुपर्ने बताए ।
सांसद पुनले आफू राजनीतिज्ञभन्दा समाजसेवीका रूपमा प्रस्तुत हुने धारणा पनि राखेका छन् ।