नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले प्रतिबन्धित अनलाइन सट्टेबाजी साइट तथा डिजिटल प्लेटफर्ममार्फत कुनै पनि प्रकारको आर्थिक कारोबार नगर्न सर्वसाधारणलाई पुनः सचेत गराएको छ ।
सरकारले यस्ता गतिविधिमाथि पहिले नै पूर्ण प्रतिबन्ध लगाइसकेको अवस्थामा ब्यूरोले सूचना जारी गर्दै गैरकानुनी कार्यमा संलग्न नहुन आग्रह गरेको हो ।
ब्यूरोका प्रवक्ता शिवकुमार श्रेष्ठ का अनुसार अनलाइन बेटिङ वा सट्टेबाजीमा संलग्न हुनु फौजदारी कसुर हो । यस्ता प्लेटफर्म सञ्चालन गरेको वा कारोबारमा सहभागी भएको पाइएमा मुलुकी अपराध संहिता, २०७४ बमोजिम कारबाही प्रक्रिया अघि बढाइनेछ । उक्त कानुनअनुसार संलग्न व्यक्तिलाई कैद, जरिवाना वा दुवै सजाय हुनसक्ने व्यवस्था छ ।
प्रहरीले कारबाहीका क्रममा सट्टेबाजीबाट आर्जन गरिएको अवैध रकम तथा प्रयोग गरिएका प्राविधिक उपकरणहरू (जस्तै मोबाइल, ल्यापटप आदि) समेत जफत गरिने स्पष्ट पारेको छ ।
ब्यूरोले नागरिकहरूलाई यस्ता प्रतिबन्धित एप र साइटहरूबाट टाढा रहन आग्रह गर्दै, कहीँ कतै यस्ता गतिविधि भइरहेको जानकारी पाएमा तुरुन्त प्रहरीलाई खबर गरी नागरिक दायित्व पूरा गर्न पनि अनुरोध गरेको छ ।