जिल्ला प्रहरी कार्यालय पर्साले हनुमान जयन्तीको अवसरमा वीरगंजमा आयोजना हुन लागेको वृहत् शोभा यात्रालाई मर्यादित र व्यवस्थित बनाउन सबै पक्षलाई अपिल गरेको छ ।
प्रहरीले सामाजिक सञ्जालमा कुनै पनि प्रकारका उत्तेजक सामग्री, अफवाह तथा धार्मिक समुदायलाई लक्षित गरी लेख्ने, शेयर गर्ने वा पोस्ट गर्ने कार्य नगर्न हार्दिक अनुरोध गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साद्वारा जारी सूचनामा भनिएको छ, “कोही कसैले उच्छृङ्खल गतिविधि, आपसी सद्भाव बिथोल्ने तथा कुनै धर्म समुदायलाई लक्षित गरी सामाजिक सञ्जालमा अफवाह, विरोध अभिव्यक्ति लेख्ने, शेयर गर्ने र पोस्ट गर्ने कार्य नगर्न हार्दिक अनुरोध गर्दछौँ। यस्ता गतिविधि गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ।”
गत वर्ष हनुमान जयन्तीको शोभा यात्राको क्रममा वीरगञ्जको छपकैया चोकमा दुई समुदायबीच झडप भई स्थिति तनावग्रस्त बनेको थियो । त्यसपछि केही समयका लागि कर्फ्यु आदेशसमेत जारी गरिएको थियो ।
यस वर्ष शोभा यात्रालाई शान्तिपूर्ण, मर्यादित र उच्छृङ्खल गतिविधिरहित बनाउन जिल्ला प्रशासन कार्यालय पर्सा र जिल्ला प्रहरी कार्यालय पर्साले जनप्रतिनिधि, राजनीतिक दलका प्रमुख, सामाजिक अगुवा तथा धार्मिक सङ्घसंस्थाका प्रतिनिधिहरूसँग निरन्तर छलफल गर्दै आएका छन् ।
केही दिनअघि पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य हरि पन्त, पर्सा–२ का प्रतिनिधिसभा सदस्य सुशील कुमार कानुलगायतको उपस्थितिमा सर्वपक्षीय बैठक गरी शोभा यात्राबारे विस्तृत छलफल गरिएको थियो । त्यस्तै, प्रशासन र प्रहरीले हिन्दु तथा मुस्लिम धार्मिक सङ्घसंस्थाका अगुवाहरूसँग छुट्टाछुट्टै बैठक गरी सहयोगको अपेक्षा गरेको छ ।
प्रहरीले सबै पक्षलाई शान्ति, सद्भाव र संयम कायम राख्न आग्रह गर्दै कुनै पनि उत्तेजक गतिविधिबाट बच्न र कानुनी कारबाहीबाट जोगिन अनुरोध गरेको छ ।
हनुमान जयन्तीको अवसरमा वीरगंजमा लामो समयदेखि वृहत् शोभा यात्रा आयोजना हुँदै आएको छ । यसमा वीरगञ्जसँगै बारा, रौतहट लगायतका जिल्लाबाट समेत हजारौँ श्रद्धालु सहभागी हुने गरेका छन् ।
शनिबार दिउँसो २ बजे घण्टाघरबाट सुरु हुने शोभा यात्राले माईस्थान मन्दिर, हनुमान मन्दिर, विर्तामाई मन्दिर, छप्कैया छठघाट, रेल्वे रोड, अमरचोक, पञ्चमुखी हनुमान मन्दिर, रामटोल र गहवा हुँदै पुनः घण्टाघर पुगेर समापन हुने कार्यतालिका रहेको छ । यात्राअघि गहवामाई मन्दिरमा विशेष पूजाको समेत आयोजना गरिएको ज्योतिष सम्राट् पण्डित डा. पुरुषोत्तम दुबेले जानकारी