राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीबीच शनिबार भेटघाट भएको छ ।
लामिछानेको निजी निवासमा भएको उक्त भेट करिब एक घण्टा लामो रहेको बताइएको छ ।
प्रतिनिधि सभाको रिक्त उपसभामुख पदको निर्वाचन नजिकिँदै गर्दा दुई नेताबीचको यो भेटलाई राजनीतिक रूपमा अर्थपूर्ण रूपमा हेरिएको छ । भेटमा उपसभामुख पदका लागि सम्भावित सहकार्य तथा संसदभित्रको साझा रणनीतिबारे छलफल भएको बुझिएको छ ।
रास्वपाले यसअघि नै डीपी अर्याललाई सभामुख पदमा निर्वाचित गराइसकेको छ । संवैधानिक प्रावधानअनुसार सभामुख र उपसभामुख फरक–फरक दल तथा फरक लिङ्गका हुनुपर्ने व्यवस्था छ । सोही कारण रास्वपाले अन्य दलहरूसँग सहकार्य गर्नुपर्ने अवस्था रहेको छ ।