हनुमान जयन्तीको अवसरमा शनिबार वीरगंजमा निकालिएको शोभायात्रा कडा सुरक्षा सतर्कता र उच्च व्यवस्थापनका बीच शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ ।
वीरगंजस्थित घण्टाघर बाट दिउँसो २ बजे सुरु भएको शोभायात्रा नगर परिक्रमा गर्दै साँझ ५ बजे पुनः सोही स्थानमा पुगेर समापन भएको थियो । विभिन्न सुरक्षा चुनौतीका आशंकाबीच स्थानीय प्रशासन र विशेषगरी प्रहरीले अपनाएको रणनीतिका कारण कार्यक्रम भव्य र अनुशासित रूपमा सम्पन्न भएको हो ।

यस वर्षको शोभायात्रामा राजनीतिक उपस्थिति समेत उल्लेखनीय देखिएको थियो । पर्सा क्षेत्र नम्बर १ का सांसद हरि पन्त र क्षेत्र नम्बर २ का सांसद सुशील साह कानु वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहपनि प्रत्यक्ष रूपमा सहभागी भएका थिए । जननिर्वाचित प्रतिनिधिहरूको सहभागितालाई स्थानीयवासीले विशेष महत्वका साथ लिएका छन् ।
शोभायात्राको सुरक्षालाई प्रभावकारी बनाउन जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख सुदीप राज पाठकले ‘फ्रन्टलाइन’ र ‘कन्ट्रोल रुम’ दुवैबाट नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । उनले कन्ट्रोल रुमबाट सीसीटीभीमार्फत र्यालीको प्रत्येक गतिविधिको सूक्ष्म निगरानी गर्दै मातहतका सुरक्षाकर्मीलाई आवश्यक निर्देशन दिएका थिए ।

संवेदनशील क्षेत्रहरूमा हुनसक्ने सम्भावित घटनालाई ध्यानमा राख्दै प्रहरीले विभिन्न पक्षसँग समन्वय गर्दै सुरक्षा घेरा कडा बनाएको थियो। सुरक्षा रणनीतिअन्तर्गत प्रहरीले सहमति विपरीतका गतिविधिमाथि कडा निगरानी राखेको थियो ।
सो क्रममा र्यालीमा लैजान निषेध गरिएको तरबार लगायतका केही सामग्री प्रहरीले नियन्त्रणमा लिएको छ भने सुरक्षामा खलल पुर्याउने आशंकामा छपकैया क्षेत्रबाट दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको छ ।
घण्टाघरबाट सुरु भई नगर परिक्रमा गरेर सम्पन्न भएको शोभायात्रामा करिब ५० हजार महिला तथा पुरुष भक्तजनहरूको उत्साहजनक सहभागिता रहेको थियो ।
यति ठूलो जनसागरलाई व्यवस्थित रूपमा सञ्चालन गर्न प्रहरीको सक्रियता र समन्वयको स्थानीयवासीले खुलेर प्रशंसा गरेका छन् । “प्रहरीको चौकसी र प्रभावकारी नेतृत्वका कारण कुनै अप्रिय घटना बिना कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकाे छ ।